arrow

आईपीएलकै सबैभन्दा ठूलो 'रन चेज' गर्‍यो पञ्जाबले, २६४ पुर्‍याएको दिल्ली छ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
panjab-dc.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार छैटौँ जित दर्ता गरेको छ। शनिबार अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले प्रस्तुत गरेको २६५ रनको विशाल लक्ष्यलाई पञ्जाबले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्दै आईपीएल इतिहासकै सबैभन्दा ठूलो सफल 'रन चेज' को कीर्तिमान रचेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २ विकेटको क्षतिमा २६४ रनको पहाड खडा गरेको थियो, जसमा केएल राहुलले अविजित १५२ रन बनाउँदै आईपीएलमा कुनै पनि भारतीय खेलाडीले बनाएको सर्वोच्च स्कोरको नयाँ इतिहास कायम गरे। उनले अभिषेक शर्माको १४१ रनको अघिल्लो रेकर्डलाई तोडेका हुन् भने दिल्लीकै नितिश राणाले ९१ रन जोड्दै राहुलसँग दोस्रो विकेटका लागि २२० रनको साझेदारी गरेका थिए।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले विस्फोटक अर्धशतकीय पारी खेल्दै जितको आधार तयार गरे। प्रभसिमरनले २६ बलमा ७६ रन र श्रेयसले ३६ बलमा अविजित ७१ रनको योगदान दिए भने प्रियांश आर्याले ४३ रन जोडे। 

पञ्जाबका ओपनर जोडी प्रभसिमरन र प्रियांशबीच पहिलो विकेटका लागि १२६ रनको साझेदारी भएको थियो। दिल्लीका लागि कुलदीप यादवले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यो ऐतिहासिक जितसँगै पञ्जाब किंग्स ७ खेलमा ६ जितका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली क्यापिटल्सको यो सातौँ खेलमा चौथो हार हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ