मुम्बईको १३ वर्षकै खराब रेकर्ड: आफ्नै मैदानमा चेन्नईसँग १०३ रनको ऐतिहासिक हार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
565
Shares
काठमाडौँ । पाँच पटकको विजेता मुम्बई इन्डियन्स (एमआई) ले आईपीएल इतिहासकै सबैभन्दा ठूलो हार व्यहोरेको छ। बिहीबार मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको सिजनको ३३औँ खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले मुम्बईलाई १०३ रनले पराजित गर्यो। यसअघि मुम्बईको सबैभन्दा ठूलो हार ८७ रनको थियो जुन सन् २०१३ मा राजस्थान रोयल्सविरुद्ध भएको थियो।
यो जीत चेन्नईका लागि पनि ऐतिहासिक बनेको छ। यो चेन्नईको आईपीएल इतिहासकै सबैभन्दा फराकिलो जीत हो। यसअघि सन् २०१५ मा पञ्जाबविरुद्ध ९७ रनको जीत चेन्नईको सबैभन्दा ठूलो सफलता थियो।
टस जितेर पहिले बलिङ रोजेको मुम्बईले २०८ रनको विशाल लक्ष्य पाएको थियो। तर लक्ष्य पछ्याउने क्रममा मुम्बईको ब्याटिङ ध्वस्त भयो र टोली १९ ओभरमा १०४ रनमै अलआउट भयो। मुम्बईका लागि तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३६ रन जोडे पनि अन्य ब्याटरले साथ दिन सकेनन्। चेन्नईका बलर अकिल हुसेनले घातक बलिङ गर्दै ४ विकेट लिए भने नूर अहमदले २ विकेट चट्काए।
यसअघि ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। चेन्नईको जीतका नायक संजु सामसन बने, जसले अविजित १०१ रनको शतकीय पारी खेले। आईपीएल २०२६ मा सामसनको यो दोस्रो शतक हो भने उनको आईपीएल करियरको पाँचौँ शतक हो। उनले आफ्नो पारीमा १० चौका र ६ छक्का प्रहार गरे। ऋतुराज गायकवाडले २२ र डेवाल्ड ब्रेभिसले २१ रनको योगदान दिए। मुम्बईका अल्लाह गजनफर र अश्विनी कुमारले समान २-२ विकेट लिएका थिए।
यो लज्जास्पद हारपछि मुम्बई ७ खेलमा २ जीत र ४ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ। अब मुम्बईलाई प्लेअफमा पुग्न बाँकी ७ खेलमध्ये ६ खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ यो सानदार जीतपछि चेन्नई सुपर किंग्स ७ खेलमा ३ जीत र ६ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।