चिया उद्योगमा ठूलो चाल, एक अर्ब आम्दानीपछि आईपीओ घोषणाको तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
507
Shares
काठमाडौँ। नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा एक अर्ब नौ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२२ मा कम्पनीले एक अर्ब एक करोड ३० लाख र सन् २०२१ मा एक अर्ब आठ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस वर्ष कम्पनीको कर पछिको खुद नाफा कुल आम्दानीको ५.९ प्रतिशत रहेको छ भने सञ्चालन नाफा १०.४ प्रतिशत कायम भएको छ, जसले चिया बजारमा यस कम्पनीको बलियो उपस्थितिलाई दर्शाउँछ ।
पछिल्लो समय कम्पनीको वित्तीय स्वास्थ्य निकै सबल र सुरक्षित देखिएको छ भने अब सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अघि सारेको छ ।
इक्रा नेपालको पछिल्लो तथ्याङ्क अनुसार कम्पनीको ऋण भार शून्यको अवस्थामा पुगेको छ, जसले निगम लगभग ऋणमुक्त रहेको र वित्तीय रूपमा निकै मजबुत भएको संकेत गर्दछ ।
यस्तै, कम्पनीको चालू अनुपात ४.३ गुणा रहनुले यसको अल्पकालीन दायित्व भुक्तानी गर्ने क्षमता र तरलता अवस्था निकै उत्कृष्ट रहेको पुष्टि गर्दछ, जसले भविष्यमा थप विस्तारका लागि ठोस आधार प्रदान गरेको छ ।
नेपाल चिया विकास निगम लिमिटेडले सन् १९७४ मा सरकारी संस्थानको रूपमा स्थापना भई सन् २००० देखि निजी क्षेत्रको त्रिवेणी समूहको व्यवस्थापनमा आफ्नो व्यावसायिक यात्रालाई सफल बनाउँदै आएको छ ।
हाल यस कम्पनीमा संघाई परिवारको नेतृत्व रहेको त्रिवेणी समूहको ६५ प्रतिशत बहुमत शेयर छ भने बाँकी स्वामित्व नेपाल सरकारका विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगको रहेको छ । देशको अग्रणी चिया उत्पादकको रूपमा रहेको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा अवस्थित छ ।
कम्पनीले पूर्वी नेपालका सातओटा विशाल चिया बगानहरू मार्फत चिया खेती र प्रशोधन कार्य सञ्चालन गर्दै आएको छ ।
कुल एक हजार ६१७ हेक्टर उपलब्ध क्षेत्रफल मध्ये करिब एक हजार ८७ हेक्टरमा चिया खेती फैलिएको छ । कम्पनीले आफ्नो उत्पादनलाई टोकला ब्रान्ड अन्तर्गत स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ, जसले उपभोक्ता माझ चियाको गुणस्तर र स्वादका लागि छुट्टै पहिचान बनाएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा प्याकेज गरिएको चिया बिक्रीबाट प्राप्त भएको छ, जसको ९९ प्रतिशत खपत स्वदेशी बजारमै हुने गरेको छ ।
निर्याततर्फ भने ब्रान्ड नभएका चियाको हिस्सा बढी रहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको अर्थोडक्स चियाको पहिचानलाई सघाएको छ ।
वित्तीय दृष्टिकोणले निगमको अवस्था पछिल्ला वर्षहरूमा थप सुदृढ हुँदै गएको छ । विगत पाँच वर्षदेखि ऋणको भार निरन्तर घट्दै गएको छ भने पुँजीकरण र कभरेज सूचकहरू स्वास्थ्यकर रहेका छन् ।
प्रस्तावित आईपीओबाट संकलन हुने रकमलाई कम्पनीले आफ्नो नयाँ योजना र पुँजीगत खर्चमा उपयोग गर्ने लक्ष्य राखेको छ, जसले ऋणमाथिको निर्भरतालाई कम गर्नेछ ।
कम्पनीसँग हाल करिब २७ करोड ८० लाख रुपैयाँ बराबरको कार्यशील पुँजी सञ्चालन गर्ने पर्याप्त क्षमता रहेको छ, जसले व्यावसायिक विस्तारमा सहयोग पुर्याउनेछ ।
सबल वित्तीय अवस्थाका बाबजुद कम्पनीले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। स्वदेशी र आयातित ब्रान्डहरूबीचको तीव्र प्रतिस्पर्धाका कारण कम्पनीले उत्पादन लागत अनुसार मूल्य बढाउन सकेको छैन, जसले गर्दा कोभिड समय (सन् २०२१) को तुलनामा नाफाको दरमा केही गिरावट आएको छ ।
साथै, चिया खेती पूर्ण रूपमा मौसममा आधारित हुने भएकाले जलवायु परिवर्तनको जोखिम, अन्तर्राष्ट्रिय व्यापार नीतिमा हुने फेरबदल र श्रमिक उपलब्धता जस्ता बाह्य कारकहरू कम्पनीको भविष्यको कार्यसम्पादनका लागि मुख्य चुनौतीका रूपमा रहने देखिएका छन् ।