काठमाडौं । सत्तासाझेदार दलहरुको बुधबार बसेको बैठकमा पनि मधेशी मोर्चासँग सरकारको कुरा मिल्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको बैठकमा पनि मधेशी मोर्चाले निर्वाचनमा सहभागी हुन सहमति नजनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्तावका विषयमा कुराकानी भएको थियो ।
बैठकमा प्रधानमन्त्रीले सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको, मधेशमा स्थानीय तहको संख्या बढाउनेबारे सैद्धान्तिक रुपमा सहमत भएको र संविधान संशोधन प्रस्ताव पारित गराउन प्रयत्नशील रहेको जानकारी दिँदै सत्तारुढ दल र मोर्चा निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह गरेका थिए। मोर्चाका नेताहरुले यथास्थितिमा निर्वाचनमा जान कठिन हुने धारणा प्रधानमन्त्री समक्ष राखेका थिए। बैठकमा राजनीतिक सम्वाद जारी राख्ने समझदारी भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, तराई मधेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी फोरमका नेता अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, अनिल कुमार झा, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए।