arrow

केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार

भक्तपुरका ६९ वर्षीय माकजूले पाए नयाँ जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
kmc-duwakot.jpg

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दुवाकोटस्थित दोस्रो युनिटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ। भक्तपुर नगरपालिका इनाचोका ६९ वर्षीय मसिनु माकजू यस अस्पतालबाट मुटुको सफल उपचार सेवा लिने पहिलो बिरामी बनेका हुन्।

पेट र मुटु दुख्ने समस्याले ग्रसित माकजूलाई उपचारका लागि उनका छोरा अजयले केएमसी दुवाकोट ल्याएका थिए। अस्पतालका मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले अत्याधुनिक क्याथ ल्याबमा उनको सफलतापूर्वक 'डाइग्नोस्टिक एन्जियोग्राम' सम्पन्न गरेको छ। करिब ३० मिनेट चलेको उक्त परीक्षणका क्रममा माकजूको मुटुका दुईवटा नसाहरू अवरुद्ध भएको पत्ता लागेको छ।

पहिलो पटकमै यस्तो महत्त्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा डा. तामाङले खुसी व्यक्त गरेका छन्। हाल बिरामीको अवस्था स्थिर रहेको र चिकित्सकहरूको सल्लाहबमोजिम परिवारले चाँडै नै अवरुद्ध नशा खुलाएर स्टेन्ट (जाली) राख्ने तयारी गरेका छन्।

एन्जियोग्रामको महत्त्व र उपलब्ध सेवा:
एन्जियोग्राम मुटुको नशाको अवस्था जाँच गर्ने एक सुक्ष्म विधि हो। यसले मुटु दुख्ने समस्या हृदयघात हो वा होइन र नसामा अवरोध छ कि छैन भन्ने कुरा प्रष्ट पार्छ। केएमसी दुवाकोटको क्याथ ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने, जाली राख्ने र भल्भ फेर्ने लगायतका सम्पूर्ण जटिल सुविधाहरू उपलब्ध रहेका छन्।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालनमा आएको केएमसीको यो दोस्रो युनिटले भक्तपुर र आसपासका बासिन्दाका लागि मुटुसम्बन्धी जटिल उपचार आफ्नै घरदैलोमा सहज बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ