arrow

जापानमा शक्तिशाली भूकम्प, इवातेमा सुनामीको लहर

टाढा रहेको राजधानी टोकियोका गगनचुम्बी भवनहरू समेत हल्लिए

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
japan-fukushima-earthquake.png

काठमाडौँ । जापानको उत्तरी क्षेत्रमा सोमबार साँझ ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४:५३ बजे उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरलाई केन्द्रविन्दु बनाएर यो कम्पन आएको हो। भूकम्पको धक्का यति शक्तिशाली थियो कि यसले सयौँ किलोमिटर टाढा रहेको राजधानी टोकियोका गगनचुम्बी भवनहरूलाई समेत हल्लाइदिएको छ।

भूकम्प लगत्तै जेएमएले तटीय क्षेत्रहरूमा ३ मिटर (१० फिट) सम्मको सुनामी छालहरू आउन सक्ने चेतावनी जारी गरेको छ। भूकम्प गएको करिब ४० मिनेटपछि इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ८० सेन्टिमिटर (३१ इन्च) को सुनामीको पहिलो लहर ठोक्किएको छ। एजेन्सीले तटीय र नदी किनारका बासिन्दाहरूलाई तत्काल घर खाली गरी उच्च स्थान वा सुरक्षित भवनहरूमा जान अनुरोध गरेको छ। पटक-पटक सुनामीका छालहरू आउन सक्ने भएकाले चेतावनी नहटेसम्म सुरक्षित स्थान नछोड्न समेत निर्देशन दिइएको छ।

राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाह वरपरका क्षेत्रमा तत्कालै कुनै ठूलो क्षति नभएको देखिएको छ। तर, जेएमएका अधिकारीहरूले आगामी दुई देखि तीन दिन वा अर्को हप्तासम्म सोही क्षेत्रमा थप ठूला र कडा पराकम्पहरू आउन सक्ने भन्दै सचेत गराएका छन्। जापानको प्रधानमन्त्री कार्यालयले घटनालगत्तै सङ्कट व्यवस्थापन टोली गठन गरी उद्धार र राहतको तयारी सुरु गरेको छ।

प्रधानमन्त्री साने ताकाइचीले पत्रकारहरूसँग कुरा गर्दै चेतावनी जारी गरिएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरे। जापान विश्वकै सबैभन्दा बढी भूकम्पीय जोखिम भएको देशहरूमध्ये एक हो, जहाँ विश्वको कुल भूकम्पको करिब १८ प्रतिशत हिस्सा महसुस गरिन्छ। यसअघि २०२५ डिसेम्बर ८ मा गएको भूकम्पले ७० सेन्टिमिटरसम्मको सुनामी ल्याएको थियो भने ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए। सरकारले अहिलेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सूचना प्रवाहमा तीव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ