तराईमा अत्यधिक गर्मी र 'लु'को जोखिम, सतर्क रहन चिकित्सकको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
737
Shares
काठमाडौँ । देशका अधिकांश भागमा तापक्रममा वृद्धि भएसँगै जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका जिल्लाहरूमा तातो हावा (लु) चल्ने सम्भावना बढेको छ। आजको तथ्याङ्कअनुसार कपिलवस्तुमा ४१ डिग्री र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले बुधबारसम्म तराई, उपत्यका र खोँचहरूमा अत्यधिक गर्मी कायम रहने बताए। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र (नेपालगञ्ज, धनगढी, दिपायल) मा 'लु' को जोखिम बढी छ। कोशी प्रदेशमा भने बादल लागेकाले तत्काल 'लु' को सम्भावना कम देखिएको छ। सुदूरपश्चिमको दिपायलमा आज ४० डिग्री सेल्सियस तापक्रम पुग्नुलाई मौसमविद्ले असामान्य मानेका छन्।
जनस्वास्थ्यविद् डा. समीर अधिकारीका अनुसार 'लु' लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखिन सक्छन्। शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्ने, छाला सुक्खा र रातो हुने लक्षण पनि देखिन सक्छ। यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलालाई बढी असर गर्ने चिकित्सकहरूले बताए।
कृषि विज्ञ डिल्लीराम शर्माले अत्यधिक गर्मीले बाली सुक्ने, फूल झर्ने र फल नलाग्ने समस्या निम्त्याउने बताए। मकैमा दाना नपोटिलो हुने र तरकारी उत्पादन घट्ने जोखिम रहेको उनको भनाइ छ। जोखिम न्यूनीकरणका लागि प्लास्टिक टनेलको प्रयोग र सिँचाइ व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिए।
कसरी जोगिने?
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्वास्थ्य मन्त्रालयले निम्न उपायहरू अपनाउन आग्रह गरेका छन्:
दिउँसोको समयमा सकेसम्म घरबाहिर ननिस्कने।
प्रशस्त पानी, फलफूलको रस र जीवनजल पिउने।
बाहिर निस्कनै परे छाता प्रयोग गर्ने वा टाउको छोप्ने।
मदिरा, चिया, कफी र बढी चिनी भएका पेय पदार्थको सेवन नगर्ने।
खेतबारीको काम बिहान वा बेलुका मात्र गर्ने।
जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण नेपालमा गर्मी दिनहरूको सङ्ख्या बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले देखाएको छ। यसबाट बच्न स्थानीय तहमा अनुकूलन रणनीति र पूर्वतयारी आवश्यक रहेको विज्ञहरूको ठहर छ।