काठमाडौँ । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सबै आठ जनाको मृत्यु भएको छ। यातायात मन्त्रालयका अनुसार मृत्यु हुनेमा चालक दलका दुई सदस्य र छ जना यात्रु रहेका छन्।
म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको उक्त हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तबाट उडान भरेको करिब पाँच मिनेटमै हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको थियो। नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले जारी गरेको विज्ञप्ति अनुसार विमानमा एक मलेसियाली नागरिक समेत सवार थिए।
संयुक्त खोजी र उद्धार टोलीले दुर्घटनास्थल पत्ता लगाएको र हेलिकप्टरमा सवार कसैलाई पनि जीवित फेला पार्न नसकिएको पुष्टि गरेको छ। संकलन गरिएका शवहरूलाई परीक्षण र पहिचानका लागि प्रान्तीय राजधानी पोन्टियानाक लगिएको छ।
इन्डोनेसियामा पछिल्लो समय हवाई दुर्घटनाका घटनाहरू बढ्दै गएका छन्। यसअघि जनवरीमा सुलावेसी टापुमा भएको हेलिकप्टर दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने गत सेप्टेम्बरमा दक्षिण कालिमान्टनमा भएको अर्को दुर्घटनामा पनि आठै जनाले ज्यान गुमाएका थिए।
यस्तै, दुर्गम पपुवा जिल्लामा भएको दुर्घटनामा पनि चार जनाको मृत्यु भएको थियो। भौगोलिक जटिलता र कतिपय अवस्थामा प्राविधिक समस्याका कारण इन्डोनेसियाका टापुहरूमा हवाई सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।