मुम्बईलाई सात विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
716
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब किंग्सले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै लगातार चौथो जित दर्ता गरेको छ। बिहीबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले घरेलु टोली मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो। यो जितसँगै पञ्जाब मुम्बईविरुद्ध लगातार तीन खेल जित्न सफल भएको छ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पञ्जाबले मात्र १६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। ४५ रनमा २ विकेट गुमाएर केही दबाबमा देखिएको पञ्जाबको इनिङ्सलाई ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सम्हालेका थिए। यी दुईबीच भएको १३९ रनको साझेदारी नै जितको मुख्य आधार बन्यो। प्रभसिमरनले ३९ बलमा ८० रनको आक्रामक अविजित इनिङ्स खेले भने कप्तान अय्यरले ३५ बलमा ६६ रन जोडे। पञ्जाबको यो जितले उसलाई ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुर्याएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो। मुम्बईका लागि यसै सिजनको पहिलो खेल खेलिरहेका ओपनर क्विन्टन डि ककले ६० बलमा ११२ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए, जसमा ८ चौका र ७ छक्का समावेश थिए। त्यस्तै नमन धीरले ५० रनको योगदान दिए पनि अन्य ब्याटर चल्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो।
बलिङतर्फ पञ्जाबका अर्शदीप सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले १८औँ ओभरमा शेरफन रदरफोर्डलाई बोल्ड गरेका थिए भने रायन रिकेल्टन र सूर्यकुमार यादवलाई लगातार दुई बलमा आउट गरेर मुम्बईको मध्यक्रम ध्वस्त पारेका थिए। ह्याट्रिक गर्नबाट चुके पनि उनको धारिलो बलिङकै कारण उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो।