काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले चौथो हार व्यहोरेको छ। मंगलबार चेन्नईको घरेलु मैदान एमए चिदाबरम रंगशालामा भएको खेलमा चेन्नई सुपर किंग्स (सीएसके) ले कोलकातालाई ३२ रनले पराजित गरेको हो।
१९२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। खेलको एक समय ९० रन जोड्दा ६ विकेट गुमाएर निकै कमजोर अवस्थामा पुगेको कोलकाताका लागि रोभम्यान पावेल र रमनदीप सिंहले अर्धशतकीय साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरे पनि जित दिलाउन भने सकेनन्।
चेन्नईको जितमा बलर नूर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले कोलकाताका कप्तान अजिंक्य रहाणे (२८ रन), क्यामरुन ग्रीन (शून्य) र रिंकु सिंह (६ रन) लाई पभेलियनको बाटो देखाएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रनको बलियो योगफल खडा गरेको थियो। चेन्नईका लागि सन्जु सामसनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४८ रन बनाए। त्यस्तै, डेवाल्ड ब्रेभिसले २९ बलमा ४१ रन र आयुष म्हात्रेले १७ बलमा ३८ रनको आक्रामक इनिङ खेले। म्हात्रेले आफ्नो इनिङमा ६ चौका र २ छक्का प्रहार गरे।
कोलकाताका तर्फबाट बलिङमा कार्तिक त्यागीले २ विकेट लिए भने वैभव अरोरा, अनुकुल रोय र सुनिल नरेनको भागमा १-१ विकेट रह्यो। यो जितसँगै चेन्नईले महत्वपूर्ण दुई अंक जोड्दै चार अंकसहित तालिकाको आठौ स्थानमा छ भने कोलकाताले सिजनमा अर्को हारको सामना गर्नुपरेको छ। कोलकाता १ अंकसहित तालिकाको दशौ स्थानमा छ ।