नेपाल–कोरिया उद्यमी व्यवसायी संघको औपचारिक स्थापना
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
504
Shares
काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले नेपालको आर्थिक क्षेत्रमा सहकार्यलाई जोड दिँदै नेपाल र कोरिया बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै सिलसिलामा दूतावासले नवस्थापित नेपाल-कोरिया उद्यमी व्यवसायी संघ (एनकेबीईए)सँगको सहकार्यमा ज्ञान साझेदारी कार्यक्रम आयोजना गरेको छ।
कोरियाली राजदूत पार्क थेयङले दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरूको सफलताका कथाहरूलाई निरन्तर प्राथमिकतामा राख्दै नेपालको आर्थिक विकासको महत्वपूर्ण चालकको रूपमा पहिचान दिएका छन्।
उनले रोजगार अनुमति प्रणाली (ईपीएस) लाई केवल रोजगारीको रूपमा मात्र सीमित नभई मानव विकासको लागि महत्वपूर्ण सहकार्यको रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे। वैदेशिक रोजगारी मार्फत कामदारहरुले विभिन्न सीप सिक्नु, आय आर्जन गर्नुका साथै उद्यमशीलताको ज्ञान र क्षमतासहित स्वदेश फर्कन सक्षम हुने बताए।
राजदूत पार्कले कोरिया सरकारले ‘के-हामी’ परियोजना तथा कोइका मार्फत विभिन्न उद्यमशीलता कार्यक्रमको महत्त्वलाई पनि जोड दिँदै उद्यमशीलता तालिम, परामर्श र स्वदेश फर्केकाहरूका लागि कोरिया सरकारले सहुलियतपूर्ण सहज स्टार्टअप ऋणका लागि नेपालको वित्तिय सँस्थासँग भएको सहकार्यको बारेमा उल्लेख गरे।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेम कुमार गुरुङले नेपाल र कोरिया बीचको लामो समयदेखिको श्रम सहकार्य तथा सांस्कृतिक सम्बन्धका बारेमा प्रकाश पारे। उनले संघको स्थापनाले उद्यमशीलता, लगानी र उत्पादनमा अर्थपूर्ण भूमिका खेल्ने धारणा राखे।
कोरियासँगको सम्बन्धलाई आर्थिक गतिविधी मार्फत दुवै देशका लागि लाभदायक तथा दिगो साझेदारीलाई अझ गहिरो बनाउने लक्ष्य राखेको बताए। संघको प्रमुख उद्देश्य दक्षिण कोरियाबाट फर्केका नेपालीहरूको सीप, अनुभव र पूँजीको उपयोग गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै नेपालमा कोरियाली लगानी आकर्षित गर्नु हो। अध्यक्ष गुरुङले यस संघले कोरियाली व्यवसायीका लागि आवश्यक सहयोग सेवाहरू प्रदान गरेर लगानीलाई सहज बनाउन र दुई देशबीच व्यापार साझेदारी विस्तार गर्ने धारणा राखे।
त्यसैगरी नवस्थापित संघले भविष्यमा नेपाल-कोरिया व्यापार मेला आयोजना गर्ने, केन्द्रीकृत व्यापार डाटाबेस विकास गर्ने र क्षमता विस्तार तालिम कार्यक्रमहरू सञ्चालन गर्ने लगायत विभिन्न योजना बनाएको छ उल्लेख गरे। यसको अलावा नेपाली उद्यमीहरूको लागि नेटवर्क विस्तार गर्ने, उत्पादन ब्रान्डिङ र बजार विकासलाई समर्थन गर्ने कुरामा केन्द्रित हुने योजना रहेको खुलाए।
यसका साथै, संघले कृषि, पर्यटन, उत्पादन, ऊर्जा, निर्माण र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रहरूमा संयुक्त लगानी कार्यक्रमलाई प्रवर्द्धन गर्न सम्बन्धित सरोकारवालासँग सहकार्य गर्ने लक्ष्य राखेको छ। यसले नेपालमा कोरियाली लगानीकर्ताहरूको लागि एकल द्वार सेवा प्रणाली स्थापना गर्ने पनि लक्ष्य राखेको छ।
संघले कोरियाली लगानीकर्तासँग सञ्जाल विस्तार गर्ने, द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्ने, प्रविधि हस्तान्तरणलाई सहज बनाउन र नेपाली उद्यमीहरूका लागि स्टार्टअप विकास कार्यक्रमलाई सफल बनाउन दूतावासबाट निरन्तर सहयोगको लागि औपचारिक रूपमा अनुरोध गरेको छ।