काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि सञ्जु सामसनले विष्फोटक शतकीय पारी खेले। उनले मात्र ५६ बलमा अविजित ११५ रन बनाउँदै टोलीलाई २ विकेटको क्षतिमा २१२ रनको बलियो योगफलसम्म पुर्याए। यो उनको आइपिएल करियरको फरक–फरक तीन टोली (राजस्थान, दिल्ली र चेन्नई) बाट प्रहार गरिएको तेस्रो शतक हो। उनलाई युवा ब्याटर आयुष म्हात्रेले ३६ बलमा ५९ रन जोडेर उत्कृष्ट साथ दिए भने अन्त्यतिर शिवम दुबेले १० बलमा २० रनको आक्रामक योगदान दिए।
दिल्लीका ब्याट्सम्यानहरूले मध्यम सुरुवात गरे पनि चेन्नईका ज्यामी ओभरटनको घातक बलिङसामु उनीहरू टिकिरहन सकेनन्। ओभरटनले मात्र १८ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिएपछि दिल्ली लक्ष्यभन्दा २३ रनले पछि परेको हो। सानदार प्रदर्शनका लागि सञ्जु सामसन 'प्लेयर अफ द म्याच' घोषित भए।
यो जितसँगै २ अङ्क जोडेको चेन्नई तालिकाको नवौँ स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अङ्कसहित चौथो स्थानमा कायम छ। शनिबारकै अर्को खेल जितेको पञ्जाब किङ्स भने ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। स्थानीय मैदानमा प्राप्त यो जितले चेन्नईका समर्थकहरूलाई उत्साह थपेको छ।