हिमाल र महासागरको भविष्य एकअर्कासँग जोडिएको छ: परराष्ट्रमन्त्री खनाल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
749
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती र आपूर्ति शृङ्खलामा देखिएको अवरोध समाधानका लागि सामूहिक जिम्मेवारी आवश्यक रहेको बताएका छन्। मौरिससको पोर्ट लुइसमा सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै उनले हिमाल र महासागरको सम्बन्ध अविच्छिन्न रहेको उल्लेख गरे।
मन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व प्रभावित भएको बताए। सो क्षेत्रमा लाखौँ नेपाली रोजगारीमा रहेकाले उनीहरूको सुरक्षा नेपालको प्राथमिकतामा रहेको उनले उल्लेख गरे। द्वन्द्वका कारण नेपालले एक नागरिक गुमाउनुपरेको र केही घाइते भएको जानकारी दिँदै उनले यसले इन्धनको मूल्य र जीविकोपार्जनमा समेत असर पारेको बताए।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा बोल्दै मन्त्री खनालले नेपाल भूपरिवेष्ठित मुलुक भए पनि हिन्द महासागरसँगको सम्बन्ध प्राचीन र स्वाभाविक रहेको बताए। नेपालका हिमनदीहरू पग्लिएर अन्ततः हिन्द महासागरमै मिसिने भएकाले हिमालको सुरक्षाले मात्र महासागरको भविष्य सुनिश्चित हुने उनको तर्क थियो। उनले नेपाल संवादको साझेदार र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको समेत स्पष्ट पारे।
नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको स्मरण गराउँदै मन्त्री खनालले समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिता भूपरिवेष्ठित राष्ट्रहरूको विशेष सुविधा नभई कानुनी अधिकार भएको बताए। उनले समावेशी र नियममा आधारित बहुपक्षीय प्रणालीमार्फत मात्र साझा उत्तरदायित्व बहन गर्न सकिनेमा जोड दिए।
हिन्द महासागर तीव्र रूपमा तातिरहेकाले टापु राष्ट्रहरू खतरामा परेको र नेपालमा हिमताल विस्फोटको जोखिम बढेको भन्दै उनले जलवायु परिवर्तनका विरुद्ध विश्वव्यापी आवाज उठाउनुपर्ने बताए। साथै, समुद्री आतङ्कवाद, डकैती र मानव तस्करी जस्ता चुनौती समाधानका लागि संवाद र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो।