काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्सले आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार इडेन गार्डेन्स स्टेडियममा भएको निकै रोचक प्रतिस्पर्धामा लखनउले कोलकाता नाइट राइडर्सलाई तीन विकेटले पराजित गर्यो।
टस जितेर पहिले बलिङ रोजेको लखनउले कोलकातालाई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रनमा रोकेको थियो। १८२ रनको लक्ष्य पछ्याउने क्रममा लखनउ एक समय निकै कठिन अवस्थामा पुगेको थियो। टोलीलाई अन्तिम १८ बलमा ४३ रनको आवश्यकता थियो र ७ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। यस्तो स्थितिमा मुकुल चौधरीले आक्रामक ब्याटिङ गर्दै २७ बलमा अविजित ५४ रनको इनिङ खेलेर हारको नजिक पुगिसकेको खेललाई जितमा परिणत गरिदिए।
लखनउको पारीको सुरुवातमै ४२ रनमा दुवै ओपनर पभेलियन फर्किएपछि इम्प्याक्ट प्लेयरका रूपमा आएका आयुष बडोनी र कप्तान ऋषभ पन्तले इनिङ सम्हालेका थिए। पन्त ७३ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि लखनउले लगातार विकेट गुमायो। १२५ रनमा बडोनी र १२८ रनमा मोहम्मद शामी आउट भएपछि मुकुल चौधरीले मोर्चा सम्हाल्दै आवेश खानसँग आठौँ विकेटका लागि २४ बलमा ५४ रनको अविजित साझेदारी गरे।
मुकुलले छक्का प्रहार गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने अन्तिम बलमा बाई मार्फत एक रन दौडिएर टोलीलाई नाटकीय जित दिलाए। सो समयमा कोलकाताका विकेटकिपर अङ्कृष रघुवंशीले रन आउट गर्ने मौका गुमाएका थिए। यस सानदार प्रदर्शनका लागि मुकुल चौधरी 'प्लेयर अफ द म्याच' चुनिए।
यो जितसँगै ४ अङ्क जोडेर लखनउ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने हालसम्म कुनै पनि जित निकाल्न नसकेको कोलकाता नवौँ स्थानमा झरेको छ। खेलमा कोलकाताका तर्फबाट कप्तान अजिङ्क्य रहाणे, फिन एलेन, क्यामरन ग्रीन र रिंकु सिंह जस्ता खेलाडीले योगदान दिएका थिए भने लखनउका तर्फबाट एडेन मार्करम, मिचेल मार्श र निकोलस पुरन जस्ता स्टार खेलाडीहरू मैदानमा उत्रिएका थिए। लखनउका लागि यो जितले आगामी खेलहरूका लागि ठूलो आत्मविश्वास प्रदान गरेको छ।