काठमाडौँ । लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्ने खण्डमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडक हिलो र चिप्लो भएपछि सवारीसाधनहरू बाटोमै फसेका छन् । जसका कारण बुधबार दिउँसोदेखि नै आवतजावत प्रभावित बनेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सिमसिम पानी परिरहेकाले उकालो बाटोमा गाडी गुड्न नसक्ने गरी चिप्लने समस्या देखिएको छ।
सडकमा सवारीको अत्यधिक चाप बढेपछि प्रहरीले मालवाहक सवारीसाधनहरूलाई अरुणखोला क्षेत्रमै रोकेको छ। सडक विस्तारको काम भइरहेको यस खण्डमा निर्माण कार्य नसकिएका कारण सामान्य वर्षामा पनि हिलो र चिप्लोले गर्दा सडक अवरुद्ध हुने समस्या दोहोरिरहेको छ।
अहिले नारायणगढ–बुटवल सडक आयोजनाले हिलो भएको स्थानमा 'ग्राभेल' हालेर बाटो मर्मत गर्ने र यातायात सुचारु गराउने प्रयास गरिरहेको छ।