ट्राफिक व्यवस्थापनमा सुधारको प्रयास: कारबाही घट्दै, अनुशासन बढ्दै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
661
Shares
काठमाडौँ। संघीय राजधानी काठमाडौँमा ट्राफिक व्यवस्थापन सुधारका प्रयासहरूले सकारात्मक संकेत देखाउन थालेका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत सुधार ल्याउन थालेको हो।
कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार विगतको तुलनामा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ। उनले ट्राफिक प्रहरीलाई थप अनुशिक्षण, जनचेतनामूलक कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार ट्राफिक सप्ताह, विद्यालय-केन्द्रित कार्यक्रम, चालक तथा मजदुर शिक्षा र समुदायस्तरका सचेतनामूलक अभियानहरूले सडक प्रयोगकर्तामा सकारात्मक प्रभाव पारेका छन्।
‘शून्य सहनशीलता’ नीति लागू
ट्राफिक नियम उल्लंघनमा प्रहरीले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरेको छ। लेन अनुशासन उल्लंघन, ट्राफिक लाइट तोड्ने, ओभरस्पिड, मादक पदार्थ सेवन (मापसे) तथा ड्रग्स सेवन गरेर सवारी चलाउनेहरूलाई कडाइका साथ कारबाही गरिँदै आएको छ। अधिकारीका अनुसार ‘रोडमै उपस्थित भएर नियम कार्यान्वयन’ गर्ने रणनीतिले सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रविधिको प्रयोग बढ्दो
आधुनिक प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ। एएनपीआर क्यामेरा प्रयोग गरी सवारीको नम्बर प्लेट स्वतः पहिचान गरेर कारबाही गर्ने व्यवस्था गरिएको छ।
यस्तै, सीसीटिभीमार्फत कन्ट्रोल रुमबाट निगरानी, राडार गनबाट स्पिड जाँच तथा ब्रेथलाइजर मेसिनबाट मापसे परीक्षणलाई कडाइका साथ लागू गरिएको छ। ‘अनस्पट कारबाही’ प्रणाली पनि प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
कारबाही घट्नु सकारात्मक संकेत
अधिकारीका अनुसार पछिल्लो समय ट्राफिक कारबाहीको संख्या घट्दो क्रममा छ, जसलाई उनले सकारात्मक रूपमा व्याख्या गरेका छन्।
उनले भने, “हाम्रो लक्ष्य जरिवाना उठाउनु होइन, सडक अनुशासन कायम गर्नु हो। कारबाही घट्नुको अर्थ नियम उल्लंघन पनि घट्दै जानु हो।”
तर गम्भीर र बारम्बार उल्लंघन गर्ने चालकका हकमा कडा कदम चालिँदै आएको छ। पटक-पटक उल्लंघन गर्ने चालकको लाइसेन्स खारेजका लागि सिफारिस गर्ने नीति लागू गरिएको छ।
पूर्वाधार सुधारमा ध्यान
ट्राफिक व्यवस्थापन सुधारका लागि पूर्वाधारमा पनि ध्यान दिइएको छ। ट्राफिक लाइट सञ्चालन संख्या ४२ बाट बढाएर ५३ पुर्याइएको छ।
साथै ‘कीप क्लियर’ क्षेत्र, स्टप लाइन, रोड मार्किङ र लेन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम भइरहेको छ।
काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागसँग समन्वय गरेर पिक एण्ड ड्रप व्यवस्थापन तथा सवारी प्रणाली सुधारका काम अगाडि बढाइएको छ।
एकीकृत बसपार्क प्रणाली लागू गर्ने योजना पनि अगाडि सारिएको छ, जसले जथाभावी पार्किङ र ट्राफिक जाम घटाउने अपेक्षा गरिएको छ।
चुनौती अझै जटिल
सुधारका प्रयासबीच पनि चुनौतीहरू भने यथावत छन्। काठमाडौँमा सवारी साधनको संख्या तीव्र गतिमा बढिरहेको छ भने सडक विस्तार त्यही अनुपातमा हुन सकेको छैन।
विशेषगरी दुईपाङ्ग्रे सवारीको अनियन्त्रित वृद्धि र सार्वजनिक सवारीको अव्यवस्थित सञ्चालन ट्राफिक व्यवस्थापनका लागि प्रमुख चुनौती बनेका छन्।
नागरिकको व्यवहार मुख्य समस्या
ट्राफिक व्यवस्थापनमा नागरिकको व्यवहार पनि महत्वपूर्ण रहेको अधिकारीले बताए। आकाशे पुल हुँदाहुँदै सडकबाट बाटो काट्ने, जेब्राक्रसिङ बेवास्ता गर्ने, हेल्मेट नलगाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति गम्भीर समस्या बनेको छ।
मोडिफाइड बाइकबाट ध्वनि प्रदूषण गर्ने र नियम उल्लंघनलाई ‘उपलब्धि’ जस्तो ठान्ने प्रवृत्तिलाई उनले सडक संस्कारविरुद्धको गतिविधि बताएका छन्।
बाइक चोरी पनि चुनौती
काठमाडौँ उपत्यकामा दुईपाङ्ग्रे सवारी चोरीका घटना पनि चिन्ताको विषय बनेका छन्। प्रहरी तथ्यांकअनुसार भदौदेखि चैतसम्म एक हजार ७३६ ओटा सवारी चोरी भएका छन्, जसमध्ये ४०० भन्दा बढी फेला पारिएको छ। चोरी रोक्न जीपीएस ट्र्याकिङ, अतिरिक्त लक र सुरक्षित पार्किङ गर्न प्रहरीले सुझाव दिएको छ।
समन्वय र दीर्घकालीन समाधान
ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न निकायबीच समन्वय आवश्यक रहेको अधिकारीले बताए। अन्तर्राष्ट्रिय ट्राफिक विज्ञहरूको सहभागितामा कार्यशाला सञ्चालन गरी नयाँ उपायहरू कार्यान्वयनको चरणमा छ।
समग्रमा ट्राफिक व्यवस्थापनमा सुधारको संकेत देखिए पनि दीर्घकालीन समाधानका लागि नागरिकको व्यवहार परिवर्तन, पूर्वाधार विस्तार र प्रभावकारी नीति कार्यान्वयन अपरिहार्य देखिन्छ।
ट्राफिक प्रहरीको प्रयाससँगै नागरिकको जिम्मेवार सहभागिता भएमात्र राजधानीको ट्राफिक समस्या दिगो रूपमा समाधान हुने देखिन्छ।