ट्राफिक कारबाहीबाट २४ घण्टामा साढे पाँच लाखभन्दा बढी राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
181
Shares
काठमाडौँl काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १११ सवारी चालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा कुल रु पाँच लाख ६५ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
ट्राफिक नियम पालना नगर्ने चालकहरूलाई विभिन्न शीर्षकमा कारबाही गरिएको हो। प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापासे) गरेर सवारीसाधन चलाउने १०९ जना र नियमविपरीत 'राइड सेयरिङ' गर्ने १८४ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारीसाधन हुइँक्याउने २२२ जना र ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०३ जनालाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको बतायो।
अन्य कारबाहीमा लेन अनुशासन पालना नगर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना र सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६ जना रहेका छन्। यसैगरी, निर्धारित स्थानभन्दा बाहिर यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घन गर्ने ४२ जना तथा अन्य विभिन्न सवारी नियम पालना नगर्ने एक हजार १६० जनालाई पनि कारबाही गरिएको कार्यालयले जानकारी दियो। ट्राफिक प्रहरीले सडक सुरक्षा र व्यवस्थित यातायातका लागि नियमित जाँच र कारबाहीलाई तीव्रता दिँदै आएको छ।