काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको एक सय ४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका एक सय ८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका दुई सय १० जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने एक सय २०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९६, एकतर्फी सडकमा सवारी चलाउने एक सय १० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९ जनालाई कारबाही गरिएको हो ।