लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश: भदौ २३ र २४ का घटनाबारे छानबिनको माग
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
1.2k
Shares
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा महत्वपूर्ण विधेयक पेस भएका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले 'जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५' लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरे। उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए।
त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले 'लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक' सभामा पेस गरे। यी विधेयकहरूले प्रदेशको प्रशासनिक संरचना र सांस्कृतिक उत्थानमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विधेयक पेस हुनुअघि विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले गत भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। सदस्य रत्नबहादुर खत्रीले ती दिनका आन्दोलनको मर्म नबुझिए मुलुक पुनः अस्थिरतातर्फ धकेलिने चेतावनी दिए भने विष्णुप्रसाद पन्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।
बैठकमा भण्डारीलाल अहिर, हेमा बेल्वासे, अनुराग खड्का लगायतका सदस्यहरूले समसामयिक राजनीतिक र जनसरोकारका विषयमा आफ्ना धारणा राखेका थिए।