arrow

दुर्घटनामा ज्यान गुमाएकी शान्तिदेवीका परिवारले क्षतिपूर्ति पाएनन्, चालक धरौटीमा रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
pidit-family.jpg

सर्लाही । चन्द्रनगर गाउँपालिका-२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।

गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएकी थिइन् ।

ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकीपख मृत्यु भएको थियो ।

दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानून बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो छोरा सन्जित शर्माले गुनासो गरे। मृतकको परिवारले पत्रकार सम्मेलन गरी क्षतिपूर्ति रकम नपाएको गुनासो व्यक्त गरेका हुन् ।

दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका-३, बर्कुरवाका २० वर्षीय विशाल महतो सर्लाही जिल्ला अदालतको आदेश अनुसार एक लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् ।

मृतकको परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दा अघि बढाएर उनलाई चाँडै हिरासतमुक्त गराउन सहयोग गरेको आरोप लगाएका छन् ।

प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण नै बदेको दाबी गर्दै यस्तो कार्यमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने मृतक शान्तिदेवीका छोरा सन्जितले पत्रकार सम्मेलनमार्फत माग गरे ।

प्रहरीले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकमबापतको पाँच लाख रुपैयाँ र किरिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ ।

इलाका प्रहरी कार्यालय केसरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि अदालतको आदेश अनुसार अदालतमा एक लाख धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा समेत पाँच लाख ५० हजार रुपैयाँ धरौटी राखेकाले सो रकम मृतकको परिवारले नै प्राप्त गर्ने बताए ।

उनले मृतकको परिवारलाई क्षतिपूर्ति रकम लिन कसैको प्रभावमा परेर यताउता जानु भन्दा आवश्यक कागजात लिएर सोझै जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ