सहकारी पीडितसँग मन्त्री रावलले शुरू गरिन् प्रत्यक्ष संवाद
सय दिनभित्र बचत फिर्ता गर्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
576
Shares
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्। सरकारले कार्यभार सम्हालेको सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने उच्च प्राथमिकतासहितको लक्ष्य अघि सारेपछि मन्त्री रावलले पीडितहरूसँग सिधै संवाद थालेकी हुन्।
आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीबाट ठगिएका पीडितहरू भेला भएका थिए। लामो समयदेखि आफ्नो पसिनाको कमाइ फिर्ता नपाएर आर्थिक मारमा परेका सर्वसाधारणले मन्त्री रावलसमक्ष आफ्ना पीडा, समस्या र गुनासाहरू प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधान गर्नु नै मन्त्रालयको मुख्य एजेन्डा रहेको बताउँदै यसलाई गम्भीरताका साथ लिइएको स्पष्ट पारिन्। सरकारले सहकारी क्षेत्रको संकट समाधान गर्न चरणबद्ध योजना बनाएको र विशेष गरी साना बचतकर्ताहरूलाई तत्काल राहत दिने गरी काम अघि बढाइएको उनको भनाइ छ।
मन्त्रीसँगको यो प्रत्यक्ष संवादले लामो समयदेखि न्यायको पर्खाइमा रहेका सहकारी पीडितहरूमा आशा जगाएको छ। सरकारको यो कदमले सहकारी क्षेत्रमा देखिएको अविश्वास हटाउन र पीडितहरूको बचत फिर्ताको प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।