निजगढमा दुई मोटरसाइकल ठाेक्किँदा दुवै चालकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
769
Shares
बारा । बाराको निजगढ नगरपालिका-९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ ।
दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका-७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका-६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ छन्।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.२-०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३-००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटनाबारे जानकारी दिँदै घटनाको थप अनुसन्धान भइरहेको बताए। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।