मन्थली । रामेछापमा सोमबार बिहान लगातार दुई वटा भूकम्पका पराकम्पन अएका छन् । बिहान ९ः२२ बजे सालुपाती र सुनारपानीको बीचमा केन्द्रबिन्दू पारेर ४.६ रेक्टर स्केलको पराकम्पन आएकामा १०ः६ बजे त्यो भन्दा ठूलो पराकम्पन आएको हो । दोस्रो ४.७ रेक्टर स्केलको पराकम्पनको केन्द्र सुनारपानी र सालुपातीको ठीक माथि रहेको थियो ।
लगातार दुई पराकम्पन आएपछि भने सो क्षेत्रमा त्रास फैलिएको छ । सोमबार ग्याल्बो ल्होसारको सार्वजनिक बिदामा अधिकांश स्थानीय घरमै भएका बेलामा गएका ठूला पराकम्पनले बुढाबुढी र बालबालिकालाई झस्काएको एक स्थानीयवासीले बताएका छन् ।
पछिल्लो समयमा केही ठूलो मापन गरिएको यस भूकम्पको धक्कालाई राष्ट्रिय भूकम्प मापन केन्द्रले गत वर्ष बैशाख १२ गते गएको गोरखा भूकम्पको पराकम्पनका रुपमा लिएको छ ।
नौ दिनअघि धादिङलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्पन आएको थियो ।
बैशाख १२ देखि अहिलेसम्म ४ रेक्टर स्केलदेखि माथिका ४७९ वटा पराकम्पन आइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।