रोशी खोलाको बहाव घटेपछि बीपी राजमार्ग पुनः सञ्चालनमा, जोखिम कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
756
Shares
काठमाडौँ। रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझदेखि बन्द गरिएको बीपी राजमार्ग आज बिहानबाट पुनः सञ्चालनमा आएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको थियो।
प्रहरीका अनुसार राजमार्गको भकुन्डे–नेपालथोक खण्डमा भारी वर्षाका कारण रोशी खोलाको जलस्तर बढेपछि सम्भावित दुर्घटना टार्न सडक बन्द गरिएको थियो। खोलामा पानीको सतह घटेसँगै आज बिहानबाट सवारी साधनहरूलाई गन्तव्यतर्फ जान अनुमति दिइएको छ। यद्यपि, वर्षा हुने बित्तिकै खोलाको सतह बढ्ने र सडक अवरुद्ध हुने जोखिम रहेकाले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसअघि गत शुक्रबारको वर्षा र बाढीले बीपी राजमार्ग दुई दिनसम्म ठप्प बनाएको थियो। करिब ३६ घण्टाको अवरोधपछि आइतबार बिहानबाट मात्रै यातायात सुचारु भएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढीले चौकी डाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा गरी करिब चार किलोमिटर अस्थायी 'डाइभर्सन' मा क्षति पुर्याएको थियो।
गत वर्ष असोजमा आएको विनाशकारी बाढी र पहिरोले चौकी डाँडा–नेपालथोक सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि हाल खोलाको किनारबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिँदै आएको छ। अस्थायी सडक भएकाले सामान्य वर्षामा पनि रोशी खोलाको बहाव बढ्दा राजमार्ग पटक–पटक अवरुद्ध हुने गरेको छ।