चट्याङले रसुवामा ध्वस्त पारेका चार ट्रान्सफर्मर फेरिए, विद्युत् सेवा पुनः सुचारू
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
593
Shares
काठमाडौँ । रसुवामा चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको छ। गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा रहेका चारवटा ट्रान्सफर्मरमा क्षति पुर्याएपछि विद्युत् आपूर्ति बन्द भएको थियो।
नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका अनुसार उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्डको साप्चे, आमा छोदिङ्मोको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो। प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेले मौज्दात रहेका नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् सुचारु गरिएको जानकारी दिए।
जिल्लामा करिब १० हजार ६०० ग्राहक छन्। शाखा प्रमुख गुञ्जमान तामाङले एकैपटक जिल्लाभर समस्या उत्पन्न हुँदा सबै स्थानमा प्राविधिक पुर्याउन चुनौती भए पनि कर्मचारी परिचालन गरी मर्मत कार्य सम्पन्न गरिएको बताए। रसुवा विद्युत् उत्पादनको 'हब' भए तापनि निरन्तर विद्युत् आपूर्ति नहुने र समय-समयमा 'ट्रिपिङ' हुने समस्या अझै कायम छ।
प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरणहरू मौज्दात राखेको र रसुवागढी जलविद्युत् आयोजनामार्फत टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा प्रसारण लाइन विस्तार गरिएको जनाएको छ। रसुवाबाट मासिक करिब डेढ करोड रुपैयाँ विद्युत् महसुल सङ्कलन हुने गर्दछ।