काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ट्रामडोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौरसियासमेत पाँच जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बाप्र०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगन्ज महानगरपालिका-१६ शङ्कराचार्य गेटबाट लागुऔषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित तीन जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरिब महम्द र २४ वर्षीय महम्द रजिस छन् ।
प्रहरीचौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।