सन् २०२५ मा भएका गाँजा सम्बन्धी केही अनुसन्धान हेरौँ । अमेरिकाको क्यालाफोर्निया विश्वविद्यालयका प्राध्यापक डा. नाथानियल सुस्टरले गम्भीर टाउको दुखाइ सहँदै आएका ९२ बिरामीलाई गाँजाका उत्पादन सेवन गराउँदा उनीमध्ये ६७ प्रतिशतलाई दुई घन्टामै दुखाइ कम भएको थियो ।
जुलाई ३१ सन् २०२५ मा अकाडेमिया मेडिसिन जर्नलमा प्रकाशित आलेख अनुसार अल्सरका रोगीले गाँजाका उत्पादन सेवन गर्दा रोग घटेको पाइएको छ ।
मार्च २०२५ मा क्युरियस जर्नलमा प्रकाशित अर्को अनुसन्धान अनुसार सुस्त मनस्थितियुक्त मानिसलाई गाँजा खुहाउँदा उनीहरूको निद्रामा सुधार, सामाजिक अन्तरक्रिया र तनावमा सुधार आएको उल्लेख छ ।
यस्तै ज्येष्ठ नागरिकमा निद्राको समस्या समाधानमा पनि गाँजा सहयोगी रहेको अर्को अध्ययनले देखाएको छ । मियामी विश्व विद्यालयका प्राध्यापक डा. हाम्जा मसुद तथा उनका साथीहरूले सन् २०१५ देखि २०२५ सम्म गरेको अध्ययनमा स्तन, गर्भाशय तथा रगतको क्यान्सर घटाउनमा गाँजा सहयोगी हुने तथ्य पत्ता लागेको छ ।
यस अध्ययनमा नेपाली मूलका चिकित्सक डा अमृत बराल पनि सहभागी थिए । खासगरी बरालकै विद्यावारिधिको थेसिसमाथि अरुहरूले पनि थप अध्ययन गरेका थिए । उनीे पोखराका बासिन्दा हुन् । अब गाउँका कुरा गरौँ ।
तीन वर्षअघि बागलुङको तारखोला गाउँपालिकाले कृषिको रणनीति बनाइदिन अनुरोध गरेपछि त्यता गइयो ।
त्यहाँका गाउँले तथा स्थानीय नेताहरूले भाँगो (भाङ) सम्बन्धी योजना बनाइदिन आग्रह गरे । भाँगोको रूख नै गाँजाको रूख भएकाले कानूनी अड्चन देखाएर त्यो काम गरिएन ।
त्यहाँ मकैबारीभरि भाँगो लगाइने रहेछ । प्रहरीले भेटेजति फाँडिदिन्छ । आँखा छलेर रहेका बोटमा भाँगो फल्छ । त्यही भाँगो सहरका डिपार्टमेन्ट स्टोरहरूमा बेचिन्छ ।
पक्कै पनि नेता तथा सरकारी अधिकारीहरू भाँगोको अचार खान्छन् । उस्तै परे प्रहरी अधिकारीहरू पनि त चाख्न पछि के पर्लान् र ?
कस्तो कानून, खेतीमा प्रतिबन्ध, बिक्री भने खुला ।
काठमाडौँका एक जना युवकको शरीर बेसरी दुख्थ्यो । उनले भएभरका डाक्टर लगाए । धामी लगाए, पीडामा कमी आएन ।
वाक्क भएर अमेरिका भासिए । त्यहाँ गएपछि चिकित्सकले उनलाई दिनमा चार पटक गाँजाको रस पिउने सुझाव दिए । विस्तारै उनी निको भए । हाल उनी क्यानाडामा गाँजा उद्योगमा काम गर्छन् ।
यसो भन्दा गाँजा अमृत नै हो भन्ने बुझ्नुभएन । अनुसन्धान अनुसार गाँजामा पाइने पाँच सय तत्वमध्ये एउटामात्र हानिकारक मानिन्छ । यसको नाम हो– डेल्टा नाइन टेट्रा हाइड्रो क्यानाबिनोल अथवा टीएचसी ।
यही तत्व नै नशालु पदार्थ हो । गाँजालाई बेरेर धुमपान गरे फोक्सोलाई असर गर्छ । यतिमात्र होइन लामो समय गाँजा धुमपान गर्नेलाई मष्तिष्कमा रगतको कमी हुने पनि समस्या अध्ययनले देखाएका छन् । यसले अन्य सुर्ती सेवनले पार्ने सबै नकारात्मक असर पार्दछ ।
गाँजाले भन्दा रक्सीले करिब चार गुणा बढी स्वास्थ्यमा हानि गर्दछ तर कुनै देशका सरकारले पनि रक्सीमाथि प्रतिबन्ध लगाएनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मादक पदार्थले मानव शरीरमा पुर्याउने हानिलाई एक सय अंक दिँदा सबैभन्दा बढी रक्सीले ७२, हिरोइनले ५५, कोकाइनले ५४ र गाँजाले २० प्रतिशत अंक पाउँछ ।
त्यसो भए यति निम्छरो गाँजालाई किन प्रतिवन्ध लगाइयो त ? यसमा केही मानिसहरू षडयन्त्रको गन्ध बसाउँछन् ।
कुरो के भने गाँजा फल्ने देशका मानिस बढी स्वस्थ्य भए धनी देशका मानिसका औषधी अझ त्यसमा पनि पश्चिममा उत्पत्ति भएको एलोपेथिक औषधीको बजार हुँदैन ।
आखिर बजार त गरिब देशमा छ । जनता त गरिब देशमा छन् । दक्षिण एसियाले विश्वको २५ प्रतिशत जनसंख्या ओगट्छ । यसमा चीन मिसाए विश्वको ४३ प्रतिशत जनसंख्या यतै हुन्छ । अनि यताका मानिस स्वस्थ्य भए औषधी कहाँ बेच्नु ।
त्यसैले अमेरिकाले गाँजामाथि प्रतिबन्ध लगायो । उसकै लहैलहैमा राष्ट्र संघ नाच्छ ।
केही मानिसको यस्तै आरोप छ ।
अहिले सबैले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरे । नेपाललाई अझै डर लाग्छ । घरको भान्सामा पुगेको भाँगोको अचार खाएर जिब्रो पड्काउँदै संसद भवन छिरेका नेताहरू उहाँ पुगेर गाँजामाथि शंका गर्छन् ।
डा. बराललाई नेपाल बोलाएर अध्ययन टोली प्रमुख बनाउनमा सरकारलाई केले रोकेको छ र ?
गाँजामार्फत विश्वव्यापी स्वास्थ्य र आर्थिक परिदृश्यमा क्रान्ति चलिरहेको छ । तर नेपाल, जो कुनै जमानामा यसको पहरेदार थियो, अहिले अरुले गाएको गुणगान सुनेर मुख मिठ्याएर बसेको छ ।
लागुऔषध नियन्त्रण ऐनले गाँजाको अपार सम्भावनालाई कुण्ठित पारेको छ । भनिन्थ्यो रे –गाँजा खान कि काबुल जानु, कि काठमान्डु ।
सन् १९७० पछि अफगानिस्तानमा रूसी उपनिवेश शुरू भएपछि काठमाडौँमात्र गाँजाको स्वर्ग मानिन्थ्यो । हिप्पीहरू काठमाडौँका गल्ली गल्लीमा भरिँदै जाँदा अमेरिकी दबाबमा संयुक्त राष्ट्र संघले गाँजामाथि प्रतिबन्ध लगाउने अभिसन्धी पारित गर्यो । नेपालले हतारहतार अमेरिकी लहैलहैमा लागेर कुरै नबुझी गाँजामाथि प्रतिबन्ध लगाइदियो ।
त्यसपछि यत्रो औषधीय गुण भएको वस्तु गाँजालाई यही काठमान्डूले हेला गर्न थाल्यो । जब गाँजा हेलामा पर्यो तब बिरामीहरू पीडित बन्न थाले ।
आज गाँजाको अर्बौं डलरको उद्योग विश्वभरि फस्टाइरहेको छ ।
एक पूर्व अर्थमन्त्रीले औषधीय गाँजालाई वैधानिक बनाउने प्रतिबद्धता व्यक्त गरे । हल्लाखल्ला भयो तर कुरो हल्लामा सीमित रह्यो ।
अहिले जसरी अनावश्यक रुपमा कर्मचारीको कुलिङ पिरियडका बारेमा समय दिइएको छ, यति समय गाँजामा दिए कति हुने कति । अब नेताहरूले ठोस रूपमा गाँजाको नियमन गरी समयमै जनतालाई राहत दिने बेला आएको छ ।
हरेक दिन ढिलो भइसक्यो ।
काठमान्डूको गाँजालाई काबुलको गाँजाले जितिसक्यो । पछि पछुताउनुपर्छ, हामीले । अझै पनि गाँजा हाम्रो राष्ट्रका लागि महत्वपूर्ण आर्थिक जीवनरेखा बन्न सक्छ ।
नेपालको कुनै पनि क्यान्सर अस्पतालको वार्डमा गएर हेर्नुहोस्, तपाईंले बिरामीको छटपटहाट देख्न सक्नुहुनेछ ।
उपचारले कमजोर भएका बिरामीहरू वाकवाकी, गहिरो पीडा र भोक नलाग्ने जस्ता समस्यासँग लड्दै जीवन काट्दैछन् । यी कष्टप्रद लक्षणले जीवनको गुणस्तरलाई कमजोर पार्छन् र कहिलेकहीँ बिरामी वाक्क भएर उपचार छोड्न बाध्य हुन्छन् ।
अन्तर्राष्ट्रिय रूपमा, क्यान्सर उपचारमा गाँजाको भूमिकाबारे चिकित्सा समुदायको बुझाइमा नाटकीय परिवर्तन आएको छ ।
यो अब कुनै सामान्य धारणामात्र होइन, प्रत्यक्ष क्यान्सर विरोधी अनुसन्धानले नयाँ सम्भावनाहरू पत्ता लगाएको छ ।
किमोथेरापीले गलेको शरीरले खाद्यवस्तु सहन नसकी बिरामीले बान्ता गर्दछ । बान्ता रोक्ने औषधीले काम नगरेको बेला पनि गाँजामा पाइने क्यानाबिनोइड्सले बान्ता रोकेको सन् २०२४ तथा २०२५ मा गरिएका दर्जनौँ अध्ययनहरूले देखाएका छन् ।
क्यान्सरका रोगीमध्ये ९० प्रतिशत पीडाबाट ग्रसित हुन्छन् । यस्ता बिरामीको पीडा घटाउन पनि गाँजा सहयोगी बनेको छ ।
क्यान्सरले भोक मार्दा बिरामीहरू कमजोर हुँदै जान्छन् । उनीहरूले रोगसँग लड्ने शक्ति पनि गुमाउँछन् ।
यस्ता रोगीलाई भोग जगाउने कार्यमा पनि गाँजाले सहयोग गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
क्यान्सरले बिरामीमा मानसिक चिन्ता, कुण्ठा र अनिद्रा आदि समस्या उब्जाउँछ । गाँजा सेवनले मानिसमा निद्रा लाग्ने हुनाले रोगीहरू चिन्तामुक्त हुन्छन् ।
नेपालमा आज कानूनी अड्चनले धेरै क्यान्सर रोगीलाई अनियमित स्रोतहरूबाट गाँजा प्रयोग गर्न बाध्य पारेको छ ।
यसबाट अर्को समस्या उत्पन्न हुन सक्दछ । गुमनाम रूपमा प्र्रयोग भएको औषधीले कत्तिको काम गर्ला ? अथवा यसको दुरुपयोगको सम्भावना होला कि नहोला ?
यस किसिमको हचुवा प्रयोगले बिरामीलाई पक्कै जोखिममा पार्दछ ।
नेपालको अहिलेको समस्या नै यही हो । यसको हचुवा प्रयोग । मानवीय लाभका साथै नेपालमा गाँजा खुला गरिए यसले आर्थिक लाभ पनि दिन्छ । नेपालको मौसम उत्कृष्ट गाँजाका लागि उपयुक्त मानिन्छ ।
सन् २०२० मा गाँजालाई उपचारका लागि उपयोग गर्न सकिने गरी खुला गरिएपछि यसको बजार बढ्दै गएको छ । सन् २०२२ मा ४३ अर्ब अमेरिकी डलर भन्दा बढी यसले कमाइ गरेको थियो । यो क्रम बढेर २०३० मा पुग्दा चार सय ४४ अर्ब डलर पुग्ने अनुमान छ ।
गाँजालाई औषधीका रूपमा मात्र प्रयोग गर्दा पनि यस वर्ष विश्वमा ३३ अर्ब अमेरिकी डलरको गाँजा बिक्री भयो । सन् २०२५ देखि २०३२ सम्ममा यसको बिक्री ८३ अर्ब डलर पुग्ने अनुमान छ ।
हामी छलफलमै व्यस्त रहेका बेला थाइल्यान्डले सात गाउँ जितिसक्यो । हाम्रो भने अझै डुंगा उत्रेको छैन ।
मुलुकहरूले नियमन गरिएको गाँजा उद्योगबाट उल्लेखनीय आर्थिक लाभ उठाइरहेका छन् । नेपालले उच्च गुणस्तरको औषधीय गाँजा र यसका उत्पादनहरू निर्यात गरेर हाम्रो विदेशी मुद्रा सञ्चिति बढाउन र व्यापार घाटा घटाउन सक्छ, र गर्नुपर्छ ।
एउटा सामान्य हिसाब गरौँ । यदि नेपालले वर्षमा २० हजार हेक्टर जमीनमा मात्र गाँजा खेती गर्ने हो भने उसले कति कमाउला ?
विश्वमा हाल व्यावसायिक गाँजा एक हेक्टरमा कम्तिमा पनि एक हजार केजी फल्छ । तर औषधीका रुपमा प्रयोग गर्ने गाँजा भने १५ सय केजी फल्छ ।
यसको मतलब २० हजार हेक्टर जमीनमा दुई करोड केजी व्यावसायिक गाँजा र तीन करोड केजी औषधीय गाँजा उत्पादन हुन्छ ।
औषधीय गाँजाको अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी कम्तीमा पनि हजारदेखि २५ सय अमेरिकी डलरसम्म पर्छ ।
ल हजार डलर प्रतिकेजीकै सस्तो भाउमा बेचौँ । कति भयो ? तीन करोड गुणा एक हजार । तीस अर्ब अमेरिकी डलर ?
आजकै सटही दरमा ४४ खर्ब ४० करोड रुपैयाँ भयो ।
पत्यार नलागे फेरि हिसाब दोहोर्याउनुहोला ।
यति धेरै कमाइ हुने विषयलाई नियमन गरेर खेती गरे के बिग्रन्छ ? अब यसलाई बढाएर एक लाख हेक्टरमा खेती गर्न सके कमाइ पनि पाँच गुणा नै हुन्छ । त्यस्तै दुई सय खर्ब भन्दा बढी वर्षको । अनि नेपाललाई धनी हुन केही गर्नुपर्ला र ?
ल समयमै विचार गरौँ । ढिला नगरौँ । अरुले नै विश्वलाई पुग्ने गरी गाँजा खेती गरिसके पछि हामी पक्कै पछुताउनु पर्छ । (लेखक ओझा किसानहरूको सिक्ने विषयमा पोष्ट डक्टरल गरिरहेका छन्)