arrow

लागुऔषधसहित विभिन्न स्थानबाट १५ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
pakrau9.jpg

काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरा छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनारसमेत दुई जनालाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम २०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिका-६ बिहीबारे बस्ने ३२ वर्षीय दिप्लुङ राईसमेत तीन जनालाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २०० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से६प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका-४ डाँगीवारिबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टा बारी बस्ने १७ वर्षीय किशोर समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागुऔषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठसमेत दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले ना१९प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारुलाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम १८० मिलिग्राम र डिजिटल तराजु एक थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ