पूर्व ऊर्जामन्त्री दीपक खड्का सीआईबीको नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
887
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको छ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएकाले सोही आधारमा उनलाई पक्राउ गरिएको हो।
खड्काको गिरफ्तारीलाई गत भदौ २४ गतेको 'जेन-जी' आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीसँग जोडेर हेरिएको छ।
त्यस समयमा नेता खड्कासहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' को निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका थिए।
ती भग्नावशेषहरूको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) मा परीक्षण गर्दा तथ्य पुष्टि भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको थियो।
विभागले विस्तृत छानबिनका लागि सीआईबीमा फाइल पठाएपछि खड्कालाई हिरासतमा लिइएको हो। यस प्रकरणले उच्चपदस्थ नेताहरूको सम्पत्ति र स्रोतमाथि थप कानुनी प्रश्न उठाएको छ।