आईपीएलको उद्घाटनमा बैंगलुरू विजयी, हैदराबाद छ विकेटले पराजित
आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
695
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी) ले जितको शुरूआत गरेको छ ।
घरेलु मैदानको फाइदा उठाउँदै आरसीबीले सनराइजर्स हैदराबाद (एसआरएच)लाई ६ विकेटले पराजित गर्दै आईपीएल २०२६ मा सुखद शुरूआत गरेको हो।
हैदराबादले दिएको २०२ रनको विशाल लक्ष्यलाई बेंगलुरुले मात्र १५.४ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो।
बेंगलुरुको जितमा 'चेज मास्टर' विराट कोहलीले कप्तानी इनिङ खेल्दै अविजित ६९ रन बनाए। उनले मात्र ३८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै दर्शकलाई मन्त्रमुग्ध पारे।
अर्कोतर्फ, देवदत्त पडीकलले विस्फोटक ब्याटिङ गर्दै २६ बलमै ६१ रनको अर्धशतकीय योगदान दिए। कप्तान रजत पाटीदारले ३१ रन जोडे भने टिम डेभिड १६ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रनको बलियो योगफल खडा गरेको थियो। तर, बेंगलुरुका ब्याटरहरूको आक्रामक मुडका अगाडि हैदराबादका बलरहरू निरीह देखिए।
आईपीएलको अर्को रोमाञ्चक भिडन्त आज राति पौने ८ बजे वानखेडे स्टेडियममा हुँदैछ। जहाँ पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुनेछन्।