काठमाडौँ । शुक्रबार साँझदेखि परेको अविरल वर्षा र रोशी खोलाको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (सोमबार) बिहान ६:०० बजेदेखि सञ्चालनमा आएको छ। बाढीले बगाएको अस्थायी सडक (डाइभर्सन) लाई मर्मत गरेपछि दुईतर्फी नै यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा बाढीले करिब ४ किलोमिटर डाइभर्सन बगाएको थियो। आइतबार दिनभरको प्रयास र आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयको सक्रियतामा अस्थायी बाटो निर्माण गरी सवारी साधनका लागि योग्य बनाइएको हो।
सडक सञ्चालनमा आए पनि मौसम अझै प्रतिकूल रहन सक्ने र बाटो अस्थायी प्रकृतिको भएकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। यसअघि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डेबेसी तथा सिन्धुलीतर्फको नेपालथोक र मंगलटारमा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका थिए।
गत वर्ष असोजको विनाशकारी बाढीले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएपछि हालसम्म खोलाकै किनारबाट अस्थायी ट्रयाक र डाइभर्सन बनाएर गाडी चलाइँदै आइएको छ। बिरुवाडाँडा, कालढुङ्गा र मङ्गलटार क्षेत्रमा अझै पनि लेदोसहितको पहिरोको जोखिम रहेकाले पानी परेको समयमा यात्रा नगर्न प्राविधिकहरूले सुझाव दिएका छन्।