arrow

राजदूत थेयङले गरे ललितपुरको सुनाकोठी हरितगृह परियोजनाको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
nepal-korea-green-house-lalitpur.jpg

काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरिया दूतावासले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नका लागि, विभिन्न सांस्कृतिक आदानप्रदान, आर्थिक साझेदारी, कृषि क्षेत्रमा साझेदारी तथा सहयोग र विकास साझेदारीलाई प्रवर्द्धन गर्दै विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छ। 

यसै सिलसिलामा बिहीबार राजदूत पार्क थेयङले ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको गणतन्त्र कोरियाको छरओन गुन शहरद्वारा आर्थिक सहयोगमा सम्पन्न भएको सुनाकोठी हरितगृह परियोजनाको उद्घाटन समारोहमा भाग लिए । 

छरओन गुन शहरका मेयर ली ह्यनजोङले उद्घाटन समारोहमा मन्तव्य राख्दै दुई शहरबीच विभिन्न क्षेत्रमा साझेदारी अभ्यासहरू विस्तार गर्न पाउँदा खुशी व्यक्त गरे। मेयर लीले नेपालसँग आधुनिक कृषि, फोहोर व्यवस्थापन, शहरी सौन्दर्यीकरण र खेलकुद विकास जस्ता क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उद्देश्य रहेको धारणा व्यक्त गरे।

त्यसैगरी मेयर लिले ललितपुर महानगरपालिकासँग कृषि क्षेत्रमा सहयोग र सहकार्यले सकारात्मक नतिजा दिनुका साथै स्थानीय महिला किसानहरूको समूह छहारी कृषि एकल महिला समूहले सामूहिक रूपमा परम्परागत खेती गतिविधिबाट आधुनिकीकरण गर्न, आधुनिक प्रविधि प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गर्न हरितगृहले सहयोग मिल्ने बताए। 

उन्ले कृषिसँग सम्बन्धित तालिम प्रदान गर्ने प्रस्तावसमेत राखेका छन् । गणतन्त्र कोरिया यस प्रकारको कृषि अभ्यासमा सबैभन्दा उन्नत देशहरूमध्ये एक मानिन्छ । उद्घाटन समारोहमा, कोरियाली राजदूत पार्क थेयङ्ले यस हरितगृह परियोजना नेपाल र गणतन्त्र कोरिया बीचको गहिरो मित्रताको उदाहरणको रूपमा खडा भएको प्रकाश पारे । 

गणतन्त्र कोरियाले विगतमा कृषकहरूको जीविकोपार्जनलाई रूपान्तरण गर्न आधुनिक कृषि प्रविधिको नयाँ चरणमा प्रवेश गरेको धारणा राखे । कोरियाली सरकारले उन्नत हरितगृह प्रणाली मार्फत कोरियाका किसानहरूलाई मौसमी खेतीको सिमितताको दायरा बढाई, उत्पादकत्व बढाउन र किसानहरूको आय सुधार गर्न सक्षम भएको धारणा व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यो परियोजनाले नेपालमा उन्नत हरितगृह प्रविधिको परिचय गराउनुका साथै, कृषि क्षेत्रमा दीर्घकालीन लाभ मिल्ने बताए । साथै यसले स्थानीय किसानहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्नुका साथै महिला कृषकहरूको सशक्तिकरणमा मद्दत मिल्ने बताए।

उक्त कार्यक्रममा गणतन्त्र कोरियाको छरओन गुन शहरबाट नौजना अधिकारीहरू, ललितपुर महानगरपालिकाका अधिकारीहरू, छहारी कृषि एकल महिला समुहका कृषकहरू, दक्षिण कोरियाली दूतावासका अधिकारीहरूसहित ५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ