डोटीमा बोलेरो जिप दुर्घटना: भीरबाट नौ सय मिटर तल खस्दा चालकसहित दुई युवकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
559
Shares
काठमाडौँ । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौक कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति करिब १२ बजे भएको उक्त दुर्घटनामा परी दुई जना युवकले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेहरूमा जिप चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी नवराज ढुङ्गेलका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिप सडकको घुम्तीबाट करिब ९०० मिटर तल साइलीखोलामा खसेको थियो। दुर्घटनाको खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले खोजी गर्दा दुवै जनालाई खोँचमा मृतावस्थामा फेला पारेको ढुङ्गेलले जानकारी दिए। तीव्र गति वा प्राविधिक कारणले जिप अनियन्त्रित भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।