काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ। अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क व्यवस्थापन गर्न निर्देशन दिएको हो।
नेपाली भाषा, संस्कृति र माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको विभागले जनाएको छ। विशेष गरी नेपाली मूलका विदेशी नागरिकहरूलाई स्वदेश फर्कँदा सहज र सम्मानित महसुस गराउन यो कदम चालिएको हो।
विश्वभर रहेका नेपाली मूलका नागरिकहरूको संस्था 'एसोसिएसन अफ नेपाली ओरिजिन' (एएनओ) ले यसका लागि लामो समयदेखि सरकारसँग माग गर्दै आएको थियो। गृह प्रशासनको यो निर्णयपछि एएनओले विज्ञप्ति जारी गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गरेको छ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूहरू सम्मानित भएको महसुस गरेका छन्। यसले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठुलो योगदान पुर्याउने विश्वास हामीले लिएका छौँ।”
यो व्यवस्था लागू भएसँगै विदेशबाट आउने नेपाली मूलका यात्रुहरूले अध्यागमन प्रक्रियामा भोग्दै आएका झन्झट कम हुने र विमानस्थलको सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। गृह मन्त्रालयले यसलाई डायस्पोरासँगको सम्बन्ध मजबुत बनाउने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ।