पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ
८२ हजार नेपालीको अनलाइन विवरण सङ्कलन: एकको मृत्यु, २० घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
724
Shares
काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा जारी तनावका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरू अवस्था केही सहज भएसँगै आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी दोहा र दुबईमा सीमित रूपमा हवाई सम्पर्क सुरु भएकाले ट्रान्जिटमा रहेका नेपालीहरू गन्तव्यतर्फ लागेको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार जेद्दामा रोकिएका ५२ जना हजयात्री चैत ५ गते नै नेपाल फर्किसकेका छन् भने कुवेत सिटीमा समस्यामा परेका ३३ जनालाई साउदी अरेबियाको भिसा प्रबन्ध गरी गन्तव्यमा पठाइएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले पश्चिम एसियाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हालसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा एक जना नेपालीको निधन भएको बताए। यस्तै, अन्य २० जना नेपाली सामान्य घाइते भएका छन्। “घाइतेमध्ये एक जनाबाहेक सबै उपचारपछि घर फर्किसकेका छन् र अस्पतालमा रहेका एक जना पनि खतरामुक्त छन्,” प्रवक्ता पौडेलले भने। बाँकी अन्य मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको मन्त्रालयको दाबी छ।
नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि मन्त्रालयले कन्सुलर सेवा विभागमार्फत अनलाइन फाराम खुला गरेको थियो, जसमा शुक्रबारसम्म ८२ हजार १०० नेपालीले विवरण भरेको प्रवक्ता क्षेत्रीले बताए। मन्त्रालयले सचिवको संयोजकत्वमा 'आपत्कालीन प्रतिकार्य समूह' गठन गरी २४सै घण्टा नियन्त्रण कक्ष सञ्चालन गरिरहेको छ।
संकटको समयमा त्रास फैलाउने उद्देश्यले फोटो र भिडियो सामाजिक सञ्जालमा राख्ने सात जना नेपालीलाई सम्बन्धित देशका सुरक्षा निकायले पक्राउ गरेका छन्। मन्त्रालयले आफू बसेको देशको सुरक्षा नियम पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घन गरेमा जेल सजाय, जरिवाना र डिपोर्ट (देश निकाला) सम्म हुन सक्ने चेतावनी दिएको छ।
प्रवक्ता पौडेलले भने, “हालको विषम परिस्थितिमा जारी भएका निर्देशनहरू कानुनसरह लागू हुन्छन्, त्यसैले सामाजिक सञ्जालमा भ्रामक सामग्री राख्ने काम नगरौँ।”
अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार अहिले 'असुरक्षित छु' भन्दै फोन गर्नेहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ। बिहीबार नियन्त्रण कक्षमा सातवटा मात्र सम्पर्क भएको र शुक्रबार कुनै पनि कल वा म्यासेज नआएको उनले जानकारी दिए। यस्तै, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानी प्रणालीलाई नयाँ प्रविधिमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको समेत बताएका छन्।