कञ्चनपुरका तीन क्याम्पसमा नेविसंघ र अखिलको तालाबन्दी
ईश्वरदत्त बडु,
प्रकाशित २०७३ फागुन १४ शनिबार
1.2k
Shares
कञ्चनपुर । स्ववियु चुनावको मुखैमा कञ्चनपुरका तीन क्याम्पसमा तालाबन्दी भएको छ । महेन्द्रनगरका ३ ठूला क्याम्पस जनज्योति विज्ञान र कञ्चनमा तालाबन्दी भएको हो । नेपाल विद्यार्थी संघले सिद्धनाथ विज्ञान र जनज्योति तथा अनेरास्ववियुले कञ्चन कलेजमा तालाबन्दी गरेका हुन् । नेविसंघले शनिबार उमेदवारी दर्ता भएकै दिन विज्ञान र जनज्योतिमा तालाबन्दी गरेको छ, भने अनेरास्ववियुले बिहिबार तालाबन्दी गरेको हो ।
नेविसंघका केन्द्रीय सह–महामन्त्री अच्युतराज कलौनीले चौथो र आठौँ सेमेष्टरका विद्यार्थी भर्नाको विषयलाई लिएर विज्ञान क्याम्पसमा तालाबन्दी गरिएको बताए । कलौनीले निर्वाचन आयोगले नेविसंघको माग लाई बेवास्ता गरेका कारण तालाबन्दी गरिएको बताए ।
यस्तै, जनज्योतिमा उमेदवारी दर्ता गराउने क्रममा नेविसंघलाई दर्ता कार्यमा अवरोध गरेकाले तालाबन्दी गरिएको नेविसंघ केन्द्रीय सदस्य देवराज जोशीले बताए । उनले भने ‘हामी उमेदवारी दर्ता प्रक्रियामा समय भित्रै पुगेका थियौ, पछाडिबाट एक हुलले कागजपत्र भित्र बाहिर गरेको भन्दै हाम्रो मनोनयन प्रक्रियामा अवरोध गरेपछि तालाबन्दी गरेका हौ ।’ जोशीले टियुले स्ववियु पद रिक्त सम्बन्धमा प्रष्ट धारणा नबनाएकाले समेत तालाबन्दी गर्न बाध्य भएको बताए ।