काठमाडौँ । पर्साको पर्सागढी नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि अमानवीय र साङ्घातिक आक्रमण गरेको घटना सार्वजनिक भएको छ। पर्सागढी–३ बिरुवा टोलका ३० वर्षीय विशनाथ सहनीले चैत १ गते आफ्नी श्रीमती हरिकलादेवी सहनीको बायाँ खुट्टा धारिलो हतियार ‘दाउ’ प्रहार गरी छिनेको आरोप लागेको हो।
गम्भीर घाइते हरिकलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले आरोपित श्रीमान्लाई पक्राउ गर्न सकेको छैन।
पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले पीडित हरिकलादेवीको उपचारको सम्पूर्ण खर्च आफूले व्यहोर्ने घोषणा गरेका छन्। पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारका साथै अस्पतालमा कुरुवा बस्नेहरूको खर्चको समेत प्रबन्ध मिलाइने उनले बताए। सांसद कानुले दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्।
पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त विशनाथ सहनीको खोजी कार्यलाई तीव्र पारिएको जनाएका छन्। अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको भए पनि हालसम्म सफलता प्राप्त हुन नसकेको उनले जानकारी दिए।
यस घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश पैदा गरेको छ। घाइतेको अवस्था गम्भीर रहेकाले चिकित्सकहरूले उनको स्वास्थ्योपचारमा विशेष निगरानी राखिरहेको बताइएको छ।