arrow

मध्यपूर्व द्वन्द्वको असर

आपूर्ति सहज बनाउन जापानले खोल्यो आफ्नो आपतकालीन तेल भण्डार

करिब आठ करोड ब्यारेल तेल खुला गर्ने योजना घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
japan-flag.jpg

काठमाडौँ । बढ्दो मध्यपूर्व द्वन्द्वका बीच पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको चिन्ता कम गर्न र बजारमा इन्धनको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो आपतकालीन भण्डारबाट तेल खुला गर्न सुरु गरेको छ। जापानी सञ्चारमाध्यम क्योडो न्युजका अनुसार, सरकारले इतिहासकै सबैभन्दा ठुलो परिमाणमा तेल रिलिज गर्ने प्रक्रिया अगाडि बढाएको हो।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले करिब ८ करोड ब्यारेल तेल खुला गर्ने योजना घोषणा गरेकी छन्। यो परिमाण जापानको ४५ दिनको कुल घरेलु खपत बराबर हो। सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीका बेला खुला गरिएको तेलभन्दा यो १.८ गुणा बढी रहेको सरकारी अधिकारीहरूले जनाएका छन्।

जापानले सुरुमा निजी क्षेत्रसँग रहेको १५ दिन बराबरको भण्डार खुला गर्ने नीति लिएको छ। यसका लागि सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्ने निर्णय गरेको छ। यसपछि सरकारले आफ्नो स्वामित्वमा रहेको एक महिना बराबरको तेल भण्डारबाट थोक विक्रेताहरूलाई तेल बिक्री गर्ने तयारी गरेको क्योडो न्युजले उल्लेख गरेको छ।

फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वमा सुरु भएको द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य को आवागमन अवरुद्ध भएपछि जापानमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। जापान आफ्नो कुल कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी हिस्साका लागि मध्यपूर्वमा निर्भर रहेकाले यो अवरोधले देशको अर्थतन्त्रलाई जोखिममा पारेको विज्ञहरूले बताएका छन्।

सन् १९७० को दशकमा भण्डारण प्रणाली सुरु भएयता जापानले आफ्नो तेल भण्डार प्रयोग गर्न लागेको यो सातौँ पटक हो। सन् २०२५ को अन्त्यसम्मको तथ्याङ्क अनुसार, जापानसँग २५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको पर्याप्त तेल भण्डार रहेको सरकारले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ