arrow

रास्वपालाई मिनेन्द्र रिजालको सुझाव: धेरै मत ल्याउनुस् तर प्रतिपक्ष सिध्याउने सोच नराख्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
minendra-rijal-11-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को चुनावपछि प्रतिपक्ष नै नरहने गरी संसद् बनाउने सोच लोकतन्त्रका लागि सुखद नभएको बताए।

रास्वपा उपसभापति अर्यालले मंगलबार नै पार्टीका सांसदहरूसँगको अभिमुखीकरणमा 'अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्नुपर्ने' आशयको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर डा. रिजालले काममा सफलताको शुभकामना दिए पनि विपक्ष नै नरहने समाजको परिकल्पना गर्नु चिन्ताजनक रहेको टिप्पणी गरेका हुन्। उनले भने, "धेरै मत ल्याएर जित्नु एउटा कुरा हो, तर विपक्ष नै नरहने सोच राख्ने हो भने राजनीतिले पुरानो बेथितिबाट कहिल्यै ब्रेक पाउँदैन।"

डा. रिजालले कांग्रेस लगायतका पुराना दलहरू आफ्नै आन्तरिक संरचना र भ्रातृ संस्थाहरूको बोझले थिचिएको स्वीकार गरे। पत्रकार, शिक्षक, विद्यार्थी र तरुण जस्ता अनेकौँ संस्थाहरूका कारण चुनावका बेला आफ्नै कार्यकर्तालाई चित्त बुझाउन कठिन हुने गरेको उनले बताए। "हाम्रा साथीहरू कुन मन्त्री हुँदा के पाएँ भन्ने सोचमा ग्रस्त छन्," उनले भने, "रास्वपाले जनताको मतको सम्मान गर्ने हो भने पुराना दललाई थिचेको यो बन्धनबाट मुक्त गराउनुपर्छ।"

उनले रास्वपालाई जनताले दिएको मतको पहिलो उपलब्धि नै राजनीतिलाई यस्ता स्वार्थ समूहको बन्धनबाट बाहिर निकाल्नु हुनुपर्नेमा जोड दिए। तर, लोकतन्त्रमा बलियो प्रतिपक्षको अभावमा सत्ता निरङ्कुश हुन सक्ने तर्फ संकेत गर्दै उनले रास्वपाको 'प्रतिपक्षविहीन' सोचमाथि प्रश्न उठाएको सञ्चारमाध्यमहरूले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ