पृथ्वी राजमार्ग विस्तारमा बिजुलीका पोल बाधक, यात्रा जोखिमपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
619
Shares
काठमाडौँ । नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको काममा सडक किनारका बिजुलीका पोलहरू मुख्य बाधक बनेका छन्। नेपाल विद्युत् प्राधिकरणले समयमै पोल स्थानान्तरण नगर्दा आयोजनाको पूर्वी खण्डमा पर्ने धादिङका विभिन्न बजार क्षेत्रमा विस्तार कार्य सुस्त बनेको छ।
विशेष गरी नौबिसे, धार्के, गल्छीको बन्छेटार, जरेखेत, बेल्खु र गजुरीको घाटबेँसी एवं पोखरेखोला क्षेत्रमा कामले गति लिन सकेको छैन। विद्युत् प्राधिकरणको ढिलासुस्तीले गर्दा कतिपय स्थानमा पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्रे गरिएको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ। बीच सडकमा अलपत्र परेका यी पोलहरूका कारण दुर्घटनाको जोखिम समेत उच्च भएको छ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा कतिपय ठाउँमा काम नै रोक्नुपर्ने अवस्था सिर्जना भएको छ। सडक विभाग र विद्युत् प्राधिकरणबीच पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्ने गरी सम्झौता भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ। प्राधिकरणले पोल सार्ने जिम्मा दिएका ठेकेदारहरूले काममा चरम ढिलाइ गरेको आयोजनाको आरोप छ।
पूर्वी खण्डमा सार्नुपर्ने कुल ५०० पोलमध्ये अब करिब १०० वटा मात्र बाँकी छन्। तर, ती बाँकी रहेका पोलहरू मुख्य खण्ड र बजार क्षेत्रमा रहेकाले समग्र आयोजनाकै प्रगतिमा बाधा पुर्याइरहेका छन्।
यता, नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने काम भइरहेको दाबी गर्दै व्यावहारिक कठिनाइले केही ढिलाइ भएको हुनसक्ने बताउनुभएको छ। उहाँले ठेकेदारसँग थप बुझेर मात्र समस्या समाधानतर्फ लाग्ने आश्वासन दिनुभएको छ।
देशको मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्गमा दुई सरकारी निकायबीचको समन्वय अभाव र ठेकेदारको लापरबाहीले गर्दा एकातिर विकासको काम गिजोलिएको छ भने अर्कोतिर दैनिक हजारौँको संख्यामा गुड्ने सवारी साधन र यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।