ग्यासको कृत्रिम अभाव र मूल्य वृद्धि रोक्न पसल–पसलमा छापा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
759
Shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारमा रहेका विभिन्न ग्यास पसलहरूको छड्के अनुगमन गरेको छ। पछिल्लो समय बजारमा ग्यासको कालोबजारी बढेको जनगुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए।
टोलीले इनरुवाका पाँचवटा मुख्य पसलहरूमा बिक्रीका लागि राखिएका सुविधा, प्रिमा, कामाख्या र कोशी ग्यासको मौज्दात तथा बिक्री वितरणको अवस्था जाँच गरेको थियो। अनुगमनका क्रममा हाल इनरुवामा मागअनुसार ग्यास उपलब्ध रहेको, कालोबजारी नभएको र उपभोक्ताले सहजै ग्यास पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोलीले बजारको वस्तुस्थिति बुझेको हो। सो अवसरमा प्रशासनले ग्यास उत्पादक, वितरक र डिलरहरूलाई ग्यासको अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गर्न र कुनै पनि बहानामा कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले बजार मूल्यभन्दा बढी लिने, खरिदबिक्रीको विवरण व्यवस्थित नराख्ने वा प्रशासनको निर्देशन उल्लङ्घन गर्ने जोकोहीलाई कानुनअनुसार कडा कारबाही गरिने जानकारी दिए।