काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०९ किलोग्राम गाँजा भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा बरामद गरिएको हो।
गएराति ११ बजेतिर पूर्वपश्चिम लोकमार्ग हुँदै लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरको टोलीले छापा मारेको थियो। प्रहरीले डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।
बरामद गरिएको गाँजा र कारलाई हाल प्रहरी नियन्त्रणमा राखेर थप कानुनी कारबाही र फरार चालकको खोजी कार्य अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए।