arrow

बागमतीमा ढल मिसाउँदा देशलाई अभिश्राप लाग्यो, शुद्धीकरणका लागि ४० दिने पदयात्रा गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
ramananda-swami.jpg

काठमाडौँ । पशुपतिनाथको चरणमा बग्ने पवित्र वागमती नदीमा ढल मिसाएर 'शिव अपराध' गरिएको भन्दै त्यसबाट राष्ट्रलाई मुक्त गराउन ४० दिने ‘दिव्य देव यात्रा’ (पदयात्रा) आयोजना गरिने भएको छ। देवघाटधामस्थित महेश सन्यास आश्रमका अध्यक्ष १००८ स्वामी रमणानन्द गिरीले वागमती शुद्धीकरण र आध्यात्मिक जागरणका लागि यो विशेष पदयात्राको घोषणा गरेका हुन्।

स्वामी रमणानन्द गिरीका अनुसार पशुपतिनाथ हिन्दु, बौद्ध र किराँत सबैका साझा आराध्य देव र नेपाली आध्यात्मिक पहिचानका सूत्रधार हुन्। भगवान्‌को जिब्रोको रसबाट प्रकट भएको मानिने वागमतीमा २०५० को दशकदेखि ढल मिसाइनु ठूलो 'देव अपराध' भएको उनले टिप्पणी गरे। भारतको अयोध्यामा रामललाले कानुनी लडाइँ जितेको उदाहरण दिँदै उनले पशुपतिनाथको पनि ‘देवाधिकार’ रहने र सो अधिकार पुनर्बहालीका लागि राज्य र नागरिक दुवैलाई झक्झकाउन सन्तहरूको अगुवाइमा ‘धर्मादेश’ जारी गरिने बताए।

वागमतीमा ढल मिसाइएपछि नेपालमा हत्या, हिंसा र अशान्ति बढेको उल्लेख गर्दै स्वामी गिरीले यो अभियानलाई आफ्नै अव्यवस्थित राज्य व्यवस्था विरुद्धको 'आध्यात्मिक युद्ध' को रूपमा व्याख्या गरे। जबसम्म वागमती ढलमुक्त भएर शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउने अवस्था आउँदैन, तबसम्म यो वैचारिक लडाइँ जारी रहने उनको भनाइ छ। उनले पशुपति क्षेत्रलाई राजनीतिक भागबण्डाको केन्द्र नबनाई विशुद्ध श्रद्धाको स्थान बनाउनुपर्नेमा समेत जोड दिए।

आगामी १५ गते साँझ पशुपतिनाथमा वागमतीको महाआरती र गंगा पूजनसँगै यो अभियानको औपचारिक सुरुवात हुनेछ। १६ गते साँझ सिन्धुलीको कुशेश्वर पुगेर १७ गते बिहानदेखि मुख्य पदयात्रा आरम्भ गरिने कार्यक्रम रहेको छ। करिब ४० दिनसम्म चल्ने यस परिक्रमामा १०० भन्दा बढी साधुसन्त, बटुक र श्रद्धालुहरूको सहभागिता रहनेछ भने यात्राका क्रममा विभिन्न स्थानमा धर्मसभा र जागरणका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ