काठमाडौं । काँग्रेसी कर्मचारीहरुको आसन्न महाधिवेशनको माहोल चुलिँदै गएको छ । यही फागुनको अन्तिम साता चितवनमा हुन लागिरहेको महाधिवेशनको लागि शुक्रबारसम्म ४९ जिल्लाबाट प्रतिनिधिहरु चयन गर्नको लागि जिल्ला अधिवेशन सम्पन्न भईसकेको काँग्रेसी कर्मचारीहरुको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ)ले जनाएको छ ।
संघका अनुसार बिहीबारसम्म देशभरका कूल ४१ जिल्लामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व समेत चयन भईसकेका थिए भने बाँकी ८ वटा जिल्लामा शुक्रबार अधिवेशन भईरहेको युनियनले जनाएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भईसकेका जिल्लाहरुमध्ये अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केही जिल्लामा निर्वाचन मार्फत् नयाँ नेतृत्व चयन भएको हो ।
शुक्रबार हुन लागेको निर्वाचनको समेत हिसाव गर्दा ९ वटा जिल्लामा निर्वाचन मार्फत् नेतृत्व चयन भएको हो भने बाँकी रहेका ४० जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको युनियनले जनाएको छ । प्रजातान्त्रिक विचार बोकेका दुई कर्मचारी संगठनहरु निजामती कर्मचारी युनियन र संघबीच एकीकरण भएपछिको पहिलो एकता महाधिवेशनको तयारीमा रहेका काँग्रेसी कर्मचारीहरुले भने यसरी अधिकांश जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्नु आफैंमा एकताको सन्देश रहेको दाबी गरेका छन् । उनीहरुले केन्द्रीय नेतृत्व पनि सर्वसम्मत चयन गर्ने प्रयासमा सबै रहेको बताउँदै आएका छन् ।
तर, केन्द्रीय महाधिवेशनको लागि भने अहिलेको अवस्थामा ४ जनाले उम्मेदवारी दिन आकांक्षा देखाएका छन् । जसमध्ये अहिलेका महासचिव जीतबहादुर मडै, राजेन्द्र बुढाथोकी, शरद अधिकारी र गोपाल प्रसाद पोखरेल गरी ४ जना छन्। जसमध्ये संस्थापन पक्षको समर्थन पाएका महासचिव मडैको उम्मेदवारीमा बुढाथोकी र अधिकारीले पनि समर्थन जनाउने संस्थापन पक्षको दाबी छ । यस्तो भएको खण्डमा संस्थापन पक्षको जीत सुनिश्चित रहेको युनियन स्रोतले जानकारी दिएको छ ।
उता, विपक्षबाट उम्मेदवारी दिएका पोखरेलले पनि पछिल्लो केही महिनादेखि आक्रामक प्रचारप्रसार गरिरहेका छन् । उनी निकट स्रोतले पनि अन्तमा मडै र पोखरेलबीच नै प्रतिस्पर्धा हुने बताएका छन् । तर, बाँकी दुई उम्मेदवारहरुले कतापट्टि सहयोग गर्छन् भन्ने विषयमा भने आफूहरु स्पष्ट नभएको ती कर्मचारीले बताए ।
उता, संस्थापन पक्षका कर्मचारीहरु भने अहिलेसम्मको जिल्लाको मतपरिणाममा संस्थापन पक्षकाे ६० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु आएको दाबी गर्दै आएका छन् ।
अहिलेसम्म महाधिवेशन भईसकेका जिल्लाहरुमध्ये सवैसम्मत नेतृत्व चयन भएका जिल्लाहरुमा पाँचथर, भोजपुर, सुनसरी, ओखलढुंगा, सिराहा, दोलखा, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, बारा, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, स्याङ्जा, कास्की, तनहुँ, गोर्खा, लमजुङ, वाग्लुङ, म्याग्दी, सल्यान, रुकुम, रोल्पा, प्युठान, दैलेख, जुम्ला, मुगु, डोल्पा, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला रहेका छन् ।
त्यस्तै, शुक्रबार हुदै गरेको महाधिवेशनमा ताप्लेजुङ, इलाम र तेह्रथुम, सोलुखुम्बु, सिन्धुली, सर्लाही र पर्वतमा पनि सर्वसम्मत नेतृत्व चयन हुँदैछ ।
उता, १० वटा जिल्लामा भने निर्वाचन गरी नयाँ नेतृत्व चयन भएको छ । जसमा झापा, मोरङ, रुपन्देही, कास्की, दाङ, बाँके, धादिङ,जाजरकोट र कैलालीमा निर्वाचन मार्फत् नेतृत्व चयन भईसकेको छ । जसमध्ये धादिङ र दाङमा केन्द्रीय प्रतिनिधिको लागि मात्रै निर्वाचन भएको र नेतृत्व सर्वसम्मत चयन भएका हुन् भने शुक्रबार हुँदै गरेको महाधिवेशनमा पनि नेतृत्वको लागि निर्वाचन हुन लागेको संघले जनाएको छ ।
युनियन संघको केन्द्रीय महाधिवेशन आउँदो फाल्गुन २२ देखि २४ गतेसम्म हुँदैछ । उक्त निर्वाचनको लागि फाल्गुन १५ गतेसम्म निर्वाचन सम्पन्न गरिसक्न युनियनले जिल्ला तथा विभागीय कार्यसमितिलाई निर्देशन दिएको छ ।