काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को खेल तालिका सार्वजनिक भएको छ । पहिलो २० खेलको तालिका बुधबार जारी गरिएको हो ।
उद्घाटन खेल मार्च २८ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच खेलिनेछ ।
खेल बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा खेलिनेछ। यही मैदानमा गत वर्ष जुन ४ मा आरसीबीको पहिलो उपाधि जितेपछि विजय परेडको क्रममा भागदौड मच्चिएको थियो । जसमा ११ जनाको मृत्यु भएको थियो।
पहिलो चरणमा १६ दिनमा २० खेल खेलाइनेछ। यसमा ४ डबल हेडरहरू समावेश छन्। ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले आफ्नो पहिलो खेल मार्च २९ मा आफ्नो घरेलु मैदान वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध खेल्नेछ।
अर्कोतर्फ, चेन्नई सुपर किंग्स (सीएसके) ले मार्च ३० मा गुवाहाटीमा राजस्थान रोयल्स (आरआर) विरुद्ध आफ्नो अभियान सुरु गर्नेछ। सञ्जु सामसन पहिलो पटक ऋतुराज गायकवाडको कप्तानीमा सीएसकेमा खेल्ने देखिएका छन्। उनी २०२६ को टी-२० विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट थिए।
दोस्रो चरणको तालिका चुनावी मिति घोषणा भएपछि जारी गरिनेछ।
आईपीएलको दोस्रो चरणको तालिका ५ राज्यमा चुनावी मिति घोषणा भएपछि जारी गरिनेछ। सन् २००८ मा आईपीएल शुरू भएदेखि, जब पनि देशमा आम चुनाव (२००९, २०१४, २०१९ र २०२४) वा कुनै पनि राज्यमा विधानसभा चुनाव भएको छ, प्रतियोगिताको तालिका दुई भागमा जारी गरिएको छ।