उच्च चापीय प्रणाली कमजोर भएसँगै हट्दैछ देशभरको तुवाँलो
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
689
Shares
काठमाडौँ। केही दिनदेखि देशका विभिन्न भागमा देखिएको बाक्लो तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजको तुलनामा भोलिदेखि मौसममा थप सुधार हुने र आकाश खुल्ने सम्भावना रहेको छ।
पछिल्ला दिनहरूमा उच्च चापीय प्रणालीको प्रभावका कारण वायुमण्डलको तल्लो तहमा प्रदूषण र तुवाँलो जम्मा भएको थियो। हाल यो प्रणाली क्रमशः कमजोर हुँदै गएकाले तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ। यसले गर्दा पछिल्लो समय बढ्दो वायु प्रदूषणबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसै प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा समेत भएको महाशाखाले जनाएको छ। वर्षा र वायुको वहावमा आएको परिवर्तनले वायुमण्डलमा झुण्डिएका धुलोका कणहरू पखालिने र भोलिदेखि मौसम सफा हुँदै जाने देखिएको छ।