हिमपातले नाम्खाका चार मतदान केन्द्र अवरुद्ध : सेनाको हेलिकप्टरबाट सामग्री ढुवानी [तस्बिर]
जनकबहादुर शाही,
प्रकाशित २०८२ फागुन १८ सोमबार
840
Shares
हुम्ला । हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएपछि हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारीहरू हेलिकप्टरमार्फत पुर्याइएको छ।
भौगोलिक विकटता र बाक्लो हिउँका कारण स्थलमार्गबाट आवतजावत असम्भव बनेपछि निर्वाचन आयोगको स्वीकृतिमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नाम्खा–६ अन्तर्गत हिमालपारिको लिमी क्षेत्रमा रहेका भृकुटी आधारभूत विद्यालय (जाङ), सुनखानी आधारभूत विद्यालय (हल्जी), हिमशिखर आधारभूत विद्यालय (तील) तथा नाम्खा–४ चाला स्थित हिमालय आधारभूत विद्यालय गरी चार मतदान केन्द्रमा सोमबार हेलिकप्टरबाट सामग्री ढुवानी गरिएको हो।
नेपाली सेना नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि अर्जुन बस्नेतको नेतृत्वमा हुम्ला सदरमुकाम सिमकोटबाट मतपत्र, निर्वाचन सामग्री र खटिएका कर्मचारीहरू सुरक्षित रूपमा सम्बन्धित केन्द्रमा पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यी चार मतदान केन्द्रका लागि २० जना निर्वाचन कर्मचारीसहित नेपाली सेना, नेपाल प्रहरी र म्यादी प्रहरीका ८२ जना सुरक्षाकर्मी गरी कुल १०२ जना जनशक्ति परिचालन गरिएको छ। सदरमुकाम आसपासबाहेक अधिकांश मतदानस्थलमा कर्मचारी र सामग्री पुगिसकेको प्रजिअ रेग्मीले जानकारी दिए।
लिमी जाने मुख्य दुई नाका नारा लेक र न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले आवतजावत पूर्ण रूपमा बन्द भएको छ। चाला जाने घोडेटो बाटोसमेत हिमपातले पुरिएपछि जिल्ला सुरक्षा समितिले ती मतदान केन्द्रहरूलाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ।
चारै केन्द्रमा गरी कुल ८३१ मतदाता रहेका छन्। जसमध्ये सुनखानी प्रावि (हल्जी)मा २९३, भृकुटी प्रावि (जाङ)मा २४७, हिमालय प्रावि (चाला)मा १५९ र हिमशिखर प्रावि (तील)मा १३२ मतदाता छन्।
अधिकांश मतदाता जिल्ला बाहिर तथा चीनको ताक्लाकोट क्षेत्रमा रहेकाले उनीहरूलाई मतदानका लागि ल्याउन सडक खुलाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
मौसम प्रतिकूल रहे पनि मतदान प्रक्रियालाई प्रभावित हुन नदिन सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ।