सावित्रा भण्डारी साम्बाको उपचारका लागि रिलायबल नेपाल लाइफबाट दुई लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
7k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत साम्बालाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।
हाल गम्भीर चोटका कारण घुँडाको शल्यक्रिया तथा दीर्घकालीन उपचार गराइरहेकी साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ। खेल मैदानमा देशको नाम उच्चो बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी खेलाडीलाई अप्ठ्यारो परिस्थितिमा साथ दिनु आफ्नो दायित्व सम्झेर मानवीय संवेदनाका आधारमा यो कदम चालिएको कम्पनीको भनाइ छ।
"सावित्रा भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएकी छिन्," कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "नेपाली महिला फुटबलको पहिचान स्थापित गर्न तथा महिला खेलकुदलाई नयाँ उचाइमा पुर्याउन उनको योगदान अतुलनीय छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा उनीप्रति ऐक्यबद्धता जनाउनु र आवश्यक सहयोग प्रदान गर्नु हाम्रो सामाजिक दायित्व हो भन्ने कम्पनीको विश्वास छ।"
सामाजिक, मानवीय तथा खेलकुद प्रवर्द्धनका कार्यमा निरन्तर अग्रसर हुँदै आएको रिलायबल नेपाल लाइफले आगामी दिनमा पनि राष्ट्र हित तथा यस्ता समाजमुखी पहललाई निरन्तरता दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
साथै, कम्पनीले साम्बाको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई पनि सकारात्मक साथ र सहयोगका लागि हार्दिक अपिल गरेको छ।