arrow

जेनेभा वार्तामा केही प्रगति तर भूभागको विवाद कायमै: राष्ट्रपति जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
volodymyr-zelenskyy.jpg

काठमाडौँ । युक्रेन र रुसबीच अमेरिकी मध्यस्थतामा जेनेभामा भएको शान्ति वार्तामा केही सकारात्मक प्रगति भए पनि मुख्य भूभागको विषयमा अझै सहमति हुन सकेको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार पत्रकारहरूसँग कुरा गर्दै वार्तामा केही आधारभूत कामहरू भए पनि तत्कालै अन्तिम सम्झौतामा पुग्न सहज नभएको बताएका छन्।

संयुक्त राज्य अमेरिकाले विगत चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई तीव्र पारेको छ। यो युद्धका कारण दशौँ हजारको ज्यान गइसकेको छ भने पूर्वी र दक्षिणी युक्रेनका धेरै भागहरू ध्वस्त भएका छन्। यद्यपि, युद्धपछिको सम्झौतामा कुन जमिन कसको नियन्त्रणमा रहने भन्ने विषय नै अहिले मस्को र किएभबीचको मुख्य विवादको कडी बनेको छ।

रूसले सम्झौताको अनिवार्य सर्तका रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने अडान राखेको छ। यदि किएभले वार्तामार्फत यो क्षेत्र नसुम्पे बल प्रयोग गरेरै कब्जा गर्ने चेतावनी मस्कोले दिएको छ। अर्कोतर्फ, युक्रेनले यो मागलाई ठाडै अस्वीकार गर्दै भविष्यमा रुसबाट पुनः आक्रमण नहुने सुरक्षा सुनिश्चितता नभएसम्म कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने सङ्केत दिएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार, अमेरिकी मध्यस्थतामा दुवै पक्ष 'युद्धविराम अनुगमन संयन्त्र' सँग सम्बन्धित प्रायः सबै प्राविधिक मुद्दाहरूमा सहमत भएका छन्। तर, रुसको कब्जामा रहेका पूर्वी क्षेत्रहरू र जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भविष्यको हैसियत जस्ता संवेदनशील राजनीतिक मुद्दाहरू अझै सुल्झिन बाँकी छन्। रुसी प्रतिनिधिमण्डलले पनि वार्ता निकै कठिन भएको र आगामी दिनमा थप छलफलको आवश्यकता रहेको बताएको छ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यो द्वन्द्वले युक्रेनको ऊर्जा क्षेत्र र भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। लाखौँ मानिस विस्थापित भएका छन् भने हजारौँले ज्यान गुमाएका छन्। जेनेभामा भएको यो वार्ताले युद्ध अन्त्यको झिनो आशा जगाए पनि भूभागको किचलोले गर्दा शान्ति प्रक्रिया अझै अनिश्चित देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ