रुपन्देही क्षेत्र–४ : विरासत जोगाउने र स्थापित गर्नेबीच प्रतिस्पर्धा
मतदाता भन्छन्– भोट त धेरै हालियो, एजेण्डा र आश्वासन खुबै सुनियो तर समस्या उस्तै
नारायण वली,
प्रकाशित २०८२ फागुन ६ बुधबार
1k
Shares
लुम्बिनी । रुपन्देहीस्थित नेपाल-भारतको सीमावर्ती पालिका समेटिएको सदरमुकाम भैरहवाबाट नजिकै दूरीमा रहेको विकासका दृष्टिले पिछडिएको क्षेत्र न–४ मा आधारभूत मानवीय आवश्यकताका विषयलाई लिएर विरासत जोगाउने र स्थापित गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लाको सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिकाको २–६ वडा, सियारी गाउँपालिकाको वडा ४/५ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा २, १२ र १३ समेटिएको क्षेत्रमा विगतदेखि विभिन्न दलबाट उम्मेदवार बन्दै आएका सर्वेन्द्रनाथ शुक्ला यसपाली जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका छन्, भने ०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका प्रमोद यादव यसपटक कांग्रेसबाट टिकट नपाएकाले पार्टी परिवर्तन गर्दै एमालेबाट उम्मेदवार बनेका छन् ।
संसदीय यात्रामा पुगिसकेका पूर्वसांसदद्धय शुक्ला र यादव विरासत जोगाउन कस्सिएका बेला संसद भवन पुग्नका लागि कांग्रेस, रास्वपा र जनमतका उम्मेदवार रोक्ने प्रयत्नमा लागेकाले रुपन्देही–४ को चुनाव निकै रोचक हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसबाट आशुतोष मिश्र, जनमत पार्टीबाट भूपेन्द्र यादव र यसअघि प्रदेश सभामा लोसपाबाट जितेका कन्हैया बानियाँले राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेकाले पाँच जनाबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका शुक्ला आठौंपटक चुनौवी मैदानमा छन् । कांग्रेसबाट उम्मेदवार बनेर ०७४ मा शुक्लालाई पराजित गरेका यादव ०७९ मा तिनै शुक्लासँग पराजय भोगेका उनी अहिले मनोनयनकै दिन कांग्रेस छाडेर एमाले प्रवेश गरेर हारको बदला लिने दाउमा छन् । सो क्षेत्रको विगतका चुनावी रेकर्ड हेर्ने हो भने मधेसवादी दलबीच प्रतिस्पर्धा भएकोमा यसपटक भने अवस्था बदलिएको छ ।
२०४८ को आम निर्वाचनदेखि ०७९ सम्मको प्रतिनिधिसभा निर्वाचनसम्मको चुनावी तथ्यांक अनुसार दुई दुई पटक कांग्रेस र एमालेले दोहोरिएर जितेको देखिन्छ । त्यसबाहेक यसक्षेत्रका मतदाताले विभिन्न पार्टी र उम्मेदवारलाई जिताएकाले यसपालि कसले बाजी मार्छ भन्ने आँकलन गर्न कठिन छ ।
आम निर्वाचन २०५६ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहले १५ हजार ३० मतले विजयी भएको र संविधान सभा निर्वाचन २०६४ मा १५ हजार आठ सय ८० र संविधान सभा निर्वाचन २०७० मा १९ हजार पाँच सय ७७ मत लिएर एमालेका नेता विष्णुप्रसाद पौडेललाई दुई पटक संसदमा पुर्याएको क्षेत्रमा एमालेले कांग्रेसबाट आएका यादवलाई उम्मेदवार बनाएकोले उनको अग्नि परीक्षाको रुपमा लिइएको छ ।
कांग्रेसले स्थानीय राजनीतिमा भिजेका युवा आशुतोष मिश्रलाई उम्मेदवार बनाएको छ । मतदाता भेटघाटका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाइराखेको मिश्र बताउँछन् । 'सबैको साथ पाइरहेको छु, बद्लिएको कांग्रेसले मर्चवारसँगै मुलुकको मुहार बदल्नेछु', उनले भने ।
जनमतबाट भोपेन्द्रप्रसाद यादव उम्मेदवार छन् । ०७९ मा पनि उनी यहीँ पार्टीबाट उम्मेदवार बनेर तेस्रो बनेका थिए । त्यतिबेला आफूले प्राप्त गरेको मत र यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेकाले आफूलाई सहज भएको उनले बताए ।
जसपा नेपालका उम्मेदवार शुक्लाले भने, मर्चवारको विकास पनि गर्नुछ, संघीयतालाई सबलीकरण गर्दै जनजीविकाको हरेक पक्षमा काम गर्ने गरी अगाडि बढेको छु । एक लाख १६ हजार १ सय ७२ जना मतदाता रहेको क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा भएपनि मुख्यतः पाँच जनाबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
खेतीयोग्य उर्वर क्षेत्रको रुपमा रहेका मर्चावरका किसानलाई अहिले असार लागेजस्तै अनुभूति भएको छ । उम्मेदवारहरु शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य चुनावी एजेन्डा बनाउँदै मतदाताको घरदैलोमा व्यस्त दौडिरहको दृश्यले चुनावमा मात्रै यस्तो दृश्य देख्न पाइने अघिपछि भेट्नै गाह्रो हुने बताउँछन् ।
पाँच प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा स्थानीय मतदाताहरु भन्छन्, 'पुराना वाचा दोहोर्याउने र नयाँ अनुहारलाई अवसर दिने विषयमा छलफल गरिरहेका छौँ ।'